‘शकुन्तलाको औंठी’ यो औंठी देखाइने अन्तिम दिनहरू हुन्।
शिल्पी नाटकघरमा मंसिर ७ गतेबाट सुरू भएको नाटक ‘शकुन्तलाको औंठी’ पुस ७ गते अन्तिम मञ्चन हुनेछ।
एकटर्स स्टुडियोको नाटकमा हामीले नाटकभित्र नाटक देख्छौं। यो अस्तित्ववादी नाटक हो।
स्टेजमा कलाकार रिहर्सल गरिरहेका हुन्छन्। उनीहरू संस्कृत नाटक ‘शकुन्तला अभिज्ञान’ को तयारीमा जुटेको देखिन्छन्।
महाभारतका पात्र दुष्यन्तकी पत्नी शकुन्तलालाई लिएर कालिदासले ‘शाकुन्तलः’ लेखे। भारतीय लेखक सुरेन्द्र बर्माले कालिदासको नाटकलाई पुनर्व्याख्या गर्दै ‘शकुन्तलाकी अंगुठी’ लेखे। यही नाटकलाई सुरज मल्लले नेपाली रंगमञ्चमा प्रस्तुत गरेका हुन्।
नाटकका पात्रको कथा नेपाली रंगकर्मीसँग मिल्छ। शकुन्तलाको भूमिका निर्वाह गर्ने कनकको जीवन नाटक अगाडि बढ्दै जाँदा शकुन्तलाको जस्तै देखिन थाल्छ। उनी केवल कनक हुन्? वा भूमिका निभाइरहेकी शकुन्तला हुन् वा केवल शकुन्तला? यस्ता भिन्दाभिन्दै तहले दर्शकलाई घुमाइरहन्छन्।
नाटकमा शकुन्तला गर्भवती हुँदा कनक पनि गर्भवती हुन्छे। दुष्यन्तले हराएको औंठी भेटाउँछ। के कुमारले पनि हराएकी शकुन्तला भेट्लान? नाटकले दुई भिन्दै युगलाई एकै ठाउँ ल्याएर जोड्छ। पुरानो युग कलियुगसम्म आइपुग्दा समाज कस्तो भयो? प्रश्न गर्छ।
शकुन्तलाको औंठीले नाटक गरिरहेका मानिसहरूको कथा भन्छ। नाटकको अभ्यास क्रममा कलाकारको जीवनमा घट्दै जाने घटनाक्रम चित्रण गरिएको छ। दर्शकलाई बारम्बार सोच्न लगाउँछ कि कुन साँच्चै भइरहेको छ? कुन नाटकमा भइरहेको छ। नाटकमा संगीत प्रयोग भएको छ। एकदमै शक्तिशाली छ। बीचबीचमा आउने गीतले पात्रहरूलाई एउटा उचाइमा र्पुयाउँछन्। नाटकको टेक्स्टमा प्रसस्त ‘मेटा टेक्स्ट’ र ‘सबटेक्स्ट’को प्रयोग छ। यसलाई रिहर्सलसँग सेट गर्नुको कारण नयाँ पुस्तालाई पुरानो टेक्स्टसँग नजिक बनाउनु त हो नै नयाँ पुस्ताले पुरानो टेक्स्टको महशुस गर्न नसकेको बिडम्बना देखाउनु पनि हो।
निर्देशक सुरज मल्ल स्वयम् मुख्य पात्रको भूमिकामा देखिएका छन्। अन्य कलाकारमा दिया मास्के, आशिष श्रेष्ठ, अनुप न्यौपाने अनिल थापा, प्रकृति रायमाझी, रञ्जना भट्टराई, विकास न्यौपाने, सुनील खडका, रोशन खत्री, प्रकाश कट्टेल, प्रमिला कार्की लगायत छन्।
सबै तस्बिरहरू : निशा भण्डारी