पूर्वी नेपालको रमणीय डाँडो मिक्लाजुङ (२,४१० मिटर)को फेदमा अबस्थित आइतबारे बजारमा बिहीबार कवि/लेखकको जमघट भएको छ। स्थानीय टाँडी माध्यमिक विद्यालयमा स्थापना गरिएको पुस्तकालय उद्घाटन र मिक्लाजुङ गाउँपालिकाव्यापी कविता प्रतियोगिताको अबसरमा कविहरूको जमघट भएको हो।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रगानका लेखक व्याकुल माइला उपश्थित थिए भने अन्य कविहरू मनु मञ्जिल, प्रकाश थाम्सुहाङ, सन्जिब राई, सुन्दर कुरूप, देवान किराती, विनय सरगम, विवेक विवश, कमल मिश्र र हेमन यात्री विशेष अतिथिका रुपमा।
उक्त अबसरमा प्रमुख अतिथि माइलाले रिबन काटेर पुस्तकालय उद्घाटन गरेका थिए भने मनु मन्जिल पठन संस्कृतिको महत्वबारे ज्ञानज्ञुन बाँडेका थिए। पुस्तकालय खुल्नु मात्र ठूलो कुरा होइन, त्यसले निरन्तर पाठक पाउँछ कि पाउँदैन त्यो महत्वपूर्ण कुरा हो। त्यसैले प्रमुख अतिथि माइलाले विद्यालय प्रशासनलाई पुस्तकालयमा विद्यार्थीको लगाब बढाउने वातावरण बनाउन आग्रह गरे।
उक्त विद्यालयका पूर्व विद्यार्थी एवं कवि हेमन यात्रीको पहलमा पुस्तक संग्रह गरिएको हो। पुस्तकालयमा करिब दुई हजार पुस्तक छन्। जम्माजम्मी ६ लाख रुपैयाँ मुल्यका किताबहरु संग्रहित भएकामा करिब डेढ लाख मुल्यका किताब किनिएको कवि यात्रीले जानकारी दिए।
पुस्तक किन्न खर्च भएको रकम कृष्ण चाम्लिङ राई, अर्जून चाम्लिङ राई, अशोक निङ्लेकु, विना थिङ तामाङ, डोल्मा लामा, भक्त राई, मिश्रा गुरुङ, देव आवारा, शुषमा रानाहँमा, छविसित कुलुङ, दीपा राई पुन, दीपमाला राई, मनु लोहरुङ, अमित याकथुम्बा, गौरी तमु, सुनिता कन्दङवा लगायतबाट आर्थिक सहयोग प्राप्त भएको थियो ।
कार्यक्रममा पुस्तकालयको महत्वबारे प्रधानाध्यापक अमृत कुमार राई, कार्यक्रम संयोजक पर्वत राई, पूर्व शिक्षक मातृका न्यौपाने र मिक्लाजुङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रमोद कुमार चौधरीले बोलेका थिए।
कविता प्रतियोगिता
पुस्तकालय उद्घाटन पछि आयोजित मिक्लाजुङ गाउँपालिकाव्यापी माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगितामा अनुरा पौडेल प्रथम, सुबासना राई दितिय, सुस्मिता राई तृतिय र नलिना बास्तोला शान्तवना पुरस्कार प्राप्त गरेका थिए। उनीहरूलाई क्रमशः ५ हजार, ३ हजार, १५ सय रुपैयाँ र पाँच सय रुपैयाँ नगदसहित प्रमाणपत्र दिइयो।
कार्यक्रममा स्थापित कविहरू प्रकाश थाम्सुहाङ, सन्जिब राई, सुन्दर कुरूप र देवान किरातीले पनि कविता वाचन गरेका थिए भने स्थानीय गायक नितेश राईले गीत गाएर मनोरञ्जन दिलाएका थिए।