सुदूरपश्चिमको छाउपडी प्रथा। सात किशोरीको भोगाइ।
काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा देखाइएको वृत्तचित्र ‘ब्लड स्पिक्स’ यही विषयवस्तुमा आधारित छ। महिनावारीजस्तो जैविक प्रक्रियालाई देउतासँग जोडेर पाप र धर्मका रूपमा हेर्ने यो प्रथालाई कथामा उन्न सारा पार्करले ती सात किशोरीलाई वृत्तचित्र बनाउन सिकाइन्।
यो वृत्तचित्रमा बाहुन, दलित, जनजाति, हिन्दु, क्रिश्चियन लगायत विविध समुदायका किशोरीले आफ्नो छाउ दैनिकी देखाएका छन्।
आइतबारको ‘ब्रेकिङ कोड रेड’ मा पनि महिनावारीमा केन्द्रित यही वृत्तचित्रमाथि छलफल गरियो। सारासहित भारतकी पौलमी बासु, फोटोग्राफर उमा विष्ट र पेमा लामा यसमा सहभागी थिए।
‘यी सबै मानिसले बनाएका बन्देज हुन्। किन छुन नहुने? किन बार्न पर्ने? यस्ता धेरै किनमा म अल्झिन्छु,’ उमाले भनिन्, ‘अवस्था अहिले पनि उस्तै छ। सुदूरपश्चिममा मात्रै होइन्, काठमाडौंमै पनि। फरक यत्ति हो यहाँ छाउगोठ छैनन्।’
पौलमीले यही विषयमा केन्द्रित भएर कुनै समय ‘ऋषि पञ्चमी’ मा अध्ययन गरेकी रहिछन्। उनलाई यस्तो विषयमा राष्ट्रिय विदा दिएको देख्दा अचम्म लागेछ।
‘मलाई भने महिनावारीमा सरसफाइमा ध्यान दिनुपर्छ भन्ने लाग्छ। तर अचम्म! महिलाले त्यस्तो समयमा शैचालयसम्म राम्ररी प्रयोग गर्न नपाउने रहेछन्,’ पेमाले यसै वर्षबाट ऋषि पञ्चमीको विदा कटौती भएको उल्लेख गर्दै भनिन्, ‘छाउप्रथा भनेको मानवअधिकारकै हनन हो।’
साराले अध्ययन क्रममा छाउपडीमा केही परिवर्तन पनि आइरहेको उल्लेख गरिन्। भनिन्, ‘पहिले छाउगोठ जंगलछेउ हुन्थे। अहिले घरनजिकै। केही सुरक्षा त मिलेको छ।’
छलफलमा नीतिनियमले छाउप्रथामा ल्याउने परिवर्तनको पनि चर्चा भयो। पेमा नीति मात्रैले परिवर्तन ल्याउन लामो समय लाग्ने बताउँछिन्। त्यसका लागि मानिस स्वयं, समुदाय र अभियन्ता सरकारसँग मिल्नुपर्ने उनको तर्क थियो।
साराले साथ दिँदै भनिन्, ‘यो राम्रो उपाय हो। तर यही मात्रै अन्तिम उपाय होइन। हामीले छाउगोठ नै भत्काउनुपर्छ। तर, यसमा धेरैको विश्वास जोडिएको छ। सुरुमै हटाउँछु भन्न पनि हुन्न।’
सुरखेतकी अन्जनाले आफू ९ वर्ष हुँदा महिनावारी भएको अनुभव सुनाइन्। ‘पहिले घरबाट टाढा गोठ हुन्थ्यो। आवारा केटाहरूले जिस्काउँथे। डर लाग्थ्यो,’ उनले भनिन्, ‘महिनावारीमा किन गोठ बस्ने भन्ने लागिरह्यो।’
‘ब्लड स्पिक्स’ की सातमध्ये कविता जोशीले वृत्तचित्र र महिनावारीको अनुभव सुनाइन्।
‘सुरुमा महिनावारीको वृत्तचित्र बनाउँदा हाम्रो समुदायमा नराम्रो प्रभाव पो पर्ने हो कि भन्ने चिन्ता थियो। अरूले पनि गाली गरे। तर सबैको एकरुपता भएपछि बनायौं,’ उनले भनिन्, ‘पहिले क्यामरा चलाउन आउँथेन। पछि सिकाउनुभयो। जानी-नजानी भिडियो बनायौं।’
उनका अनुसार २०७४ मसिंर महिनामा उनीहरूले गाउँमा छाउप्रथा टुंग्याउन ‘महिला विकास’ समूह खोले। यसलाई पहिले परिवार हुँदै समाजलाई बुझाउन सकिने उनले बताइन्।
भनिन्, ‘पहिले जंगलमा बस्नुपर्थ्यो। अहिले घरनजिक। बिस्तारै घर अनि पूजाकोठा पुग्छ। विस्तारै परिवर्तन हुन्छ। छाउप्रथा नियन्त्रण हुन्छ।’