पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई तथा पूर्व मन्त्री हिसिला यमीकी छोरी मानुषी यमी भट्टराईमाथि बनेको डकुमेन्ट्री फिल्म 'डटर अफ नेपाल'ले भारतको सातौं स्मिता पाटिल अन्तराष्ट्रिय फिल्म फेस्टिवलमा उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको छ।
फिल्मलाई भारतकी सुरभी दिवानले बनाएकी हुन्। फिल्मले ९० दशकको मध्यमा मानुषीका बाबुआमाको १२ वर्ष लामो द्वन्द्वमा जाने निर्णयले भारतमा ९ वर्षीया मानुसीले नयाँ नाममा बिताएका समयहरू र तिनले उनमा पारेको प्रभाव र भोगाइहरूलाई प्रस्तुत गरेको छ।
उक्त डकुमेन्ट्री फिल्मले द्वन्द्वको नदेखिएको पाटो र उनको पारिवारिक, सामाजिक तथा देशप्रतिको माया प्रस्तुत गरेको छ।
यस डकुमेन्ट्री फिल्मलाई ९ वर्ष लगाएर तयार गरिएको हो। अवार्ड जितेकी देवानले सुरूमा मानुषी क्यामरासँग सहज नहुँदा आफूले फिल्म निर्माणका लागि शैली परिवर्तन गर्नुपरेको बताएकी छन्। उनले फिल्म निर्माण गर्दा सहज वातावरण बनाउनुपर्ने भएकाले फिल्ममा आफू पनि मानुषीसँगै देखिनुपरेको आफ्नो निर्देशकीय नोटमा उल्लेख गरेकी छन्।
दिवानले डकुमेन्ट्री बनाउँदा (मानुषी जसलाई भूमिगत कालमा अस्मिता नामको परिचय दिइएको थियो) काठमाडौंदेखि गोर्खासम्म क्यामराले पछ्याएको खुलासा गरेकी छन्।
उनले फिल्मलाई मानुषी नेपाल फर्किएको दुई वर्षपछि छायाँकन गरेको पनि नोटमा जनाएकी छन्।
पुरस्कार पाएको कुराले छक्क परेंः मानुषी
यसैगरी आफूमाथि बनेको फिल्मले पुरस्कार पाएको खबरले आफू छक्क परेको मानुषीले सेतोपाटीलाई बताएकी छन्। उनले डकुमेन्ट्री बनाउने कुरा सुन्दा त्यतिबेला असहज महशुस गरेको बताइन्।
'१२ वर्षअगाडिको कुरा हो। त्यतिबेला जनयुद्धमा मभन्दा बढि संघर्षशील पात्रहरू थिए फिल्मका हिसाबले। सोही कारणले गर्दा मैले उहाँलाई त्यो फिल्म सार्वजनिक गर्न अनुमति पनि दिइन', उनले भनिन्, 'तर अहिलेचाँहि उहाँमाथि अन्याय गरेजस्तो लाग्छ। किनकी त्यसपछि उहाँले अरू फिल्महरू बनाउनुभयो। ती फिल्म हेर्दा मलाई त्यस्तो लागेको हो। पछि बिचमा फेरि अनुरोध गर्नुभयो र मैले अनुमति दिएँ।'
यस्तै मानुषीले फिल्ममेकर दिवान र आफू एउटै कलेज पढेको पनि बताइन्। कलेज पढ्दासम्म आफू को हूँ भन्ने दिवानलाई थाहा नभएको पनि खुलासा गरिन्।
'श्रीराम कलेजमा उहाँ म भन्दा एक ब्याच सिनियर हो। जब म नेपाल फर्किएँ तबमात्र उहाँले म को हूँ भनेर चिन्नु भयो। हाम्रो परिचय सो कलेजका एकअर्कासँग अभियानकर्ताका रूपमा थियो। उहाँले मलाई अस्मिताका रूपमा मात्रै चिन्नुहुन्थ्यो।म नेपाली हूँ भन्ने उहाँलाई थाहा थिएन।'
त्यस्तै मानुषीका अनुसार दिवानले यो फिल्म आफ्नो थेसिसका लागि बनाएकी हुन्। मानुषीले बनेको वर्ष नै आफूले इन्डिया ह्याबिट्याट सेन्टर, याँ दिल्लीमा फिल्म हेरेको र अहिले सो फिल्म थप परिस्कृत बनेको बताइन्।
छोरीमाथि बनेको डकुमेन्ट्री फिल्मले पुरस्कार जितेकोमा डा. बाबुराम भट्टराईले ट्विटरमा फिल्म निर्माता तथा निर्देशकलाई बधाई दिएका छन्।