नेपाल साहित्य सम्मेलनको सातौं संस्करण पुस ७ देखि १० गतेसम्म पोखरामा हुने भएको छ। सम्मेलनमा स्वदेश तथा विदेशका सयभन्दा बढी लेखक, साहित्यकार आउँदै छन्।
विदेशी लेखकमा मोहम्मद हनिफ, नमिता गोखले, मञ्जुश्री थापा, प्रज्ज्वल पराजुली, हरिश नाम्बियर, डा. निकोला स्ट्रिटेन सम्मेलनका मुख्य आकर्षण हुन्।
सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा लेखक खगेन्द्र संग्रौलाले यो कार्यक्रम भेटघाट, मनोरञ्जन र विचारको उत्सव रहेको बताए। लेखकले पाठक भेट्ने र पाठकले आफ्नो मनपर्ने लेखक भेट्ने अवसर पनि सम्मेलन रहेको उनले उल्लेख गरे।
सामाजिक सञ्जालले पुस्तक पढ्ने बानी कम गराइदिएको र यस्तो प्रवृत्तिबाट जोगाउने माध्यम भनेकै पुस्तक रहेको उनको धारणा छ।
फेस्टिभलका निर्देशक अजित बरालले उमेरको हिसाबसँगै फेस्टिभलले आफ्नो उचाइ मात्र नभई विश्वास पनि बढाएको बताए। नेपाली र अन्य भाषा तथा भूगोलका साहित्यलाई एउटै मञ्चमा ल्याएर मन्थन गर्ने, स्रष्टा र पाठकबीच दुरी कम गर्ने र फरक विचारहरूलाई उत्तिकै सम्मानका साथ स्थान दिनेजस्ता लोकतान्त्रिक अभ्यास मजबुत बनाउनमा फेस्टिभल उत्प्रेरक बनेको उनको भनाइ छ।
कार्यक्रममा सम्मेलनका कार्यकारी निर्देशक नीरज भारीले पोखराको पर्यटन क्षेत्रमा सहयोग गर्न सम्मेलन पोखरामा आयोजना गर्न लागिएको धारणा राखे। पोखरालाई पर्यटन केन्द्रका रूपमा विकास गर्न पनि सम्मेलनले सघाउने उनको भनाइ छ।
‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने नारासहित सन् २०११ मा ललितपुरको झम्सिखेलबाट सुरू भएको यो साहित्य महोत्सवले सन् २०१७ मा पोखरामा आफ्नो छैटौं संस्करण पूरा गरेको छ। सुरूआतका चार संस्करण काठमाडौं उपत्यकामा आयोजित यो सम्मेलन भुइँचालो र नाकाबन्दीपछि पोखरा पुगेको आयोजक बुकवर्मले जनाएको छ।
कार्यक्रम प्रायोजक आइएमईका प्रबन्ध निर्देशक हेमराज ढकालले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सम्मेलनले सघाउने अपेक्षा रहेको बताए। आइएमईका कार्यकारी प्रमुख सुमन पोखरेलले सामाजिक उत्तरदायित्वका यस्ता कार्यक्रममा आफूहरूको सहभागिता अझ बढ्ने जानकारी दिए।
सम्मेलनमा स्वदेशी तथा विदेशी लेखकका तीन दर्जनभन्दा बढी सेसन र अन्य सामग्री समावेश गरिनेछन्। बेलायती ग्राफिक नोभलिस्ट निकोला स्ट्रिटनसँग मास्टर वर्कसप तथा क्रिएटिङ हिरोइन्स प्रोजेक्टअन्तर्गत प्रदर्शनी हुनेछ।