लोकरक व्याण्ड नेपथ्यले मुलुकको पूर्वी भेगदेखि पश्चिमी किनारसम्म समेट्ने गरी तराई मधेसका चार वटा सहरको सांगीतिक यात्रा गर्ने भएको छ। मंसिरको पहिलो साता झापाको विर्तामोडबाट सुरू हुने यो यात्रा धरान, बुटवल हुँदै कैलालीको धनगढीमा टुंगिने छ।
केही समय अघि मात्र काठमाडौं र सिक्किमका दर्शकसामु प्रस्तुत भइसकेको ब्याण्डले आफ्नो स्थापनाको २५ औं वर्ष मुलुकका अन्य भागका संगीतप्रेमीसँग पनि मनाउने उद्देश्यले यो कार्यक्रम तय गरेको हो।
मंसिर ४ गते झापाको विर्तामोडबाट सुरू हुने यो यात्रा मंसिर ७ गते धरान, १० गते बुटवल हुँदै १३ गते धनगढी पुगेर सम्पन्न हुनेछ।
कन्सर्टमा दर्शकहरूका लागि नेपथ्यले नयाँ पुराना सबै लोकप्रिय गीतहरू मध्येबाट प्रस्तुतीका लागि चयन गरेको छ। त्यस बाहेक दसौं एल्बम सार्वजनिक गर्ने तयारीको संघारमै रहेको ब्याण्डले ताजा गीतहरू पनि आफ्ना स्रोता दर्शकलाई सुनाउनेछ।
‘द्वन्द्वका बेला सबैभन्दा बढी बिथोलिएको पश्चिमी भेगमा हामीले धेरै पटक पुगेर कन्सर्ट आयोजना गर्दै संगीतका माध्यमबाट भारी मनहरूलाई हलुका पार्न खोजेका थियौं,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘त्यति बेला खतरालाई चिर्दै यात्रा गर्ने नेपथ्य अब पनि मुलुकभरका दर्शकहरूसँग निरन्तर जोडिएर अघि बढ्न प्रयत्नरत छ ।’
नेपथ्य यात्रा अन्तर्गत सबै ठाँउहरुमा कार्यक्रम बेलुकी पौने छ बजेदेखि सुरू हुनेछ र कार्यक्रम स्थलको लागि स्थानीय रंगशालाहरू चयन गरिएको छ । नेपथ्यले विर्तामोडको डोमालाल राजवंशी रंगशाला, धरान रंगशाला, बुटवल रंगशाला (एन्फा टेक्निकल सेन्टर) र धनगढी रंगशालामा प्रस्तुति दिनेछ ।
‘हामीले काठमाडौं भित्र वा बाहिर जता कन्सर्ट गर्दा पनि प्राविधिक हिसाबले दर्शक र स्रोताहरूलाई एकरूपता दिँदै आएका थियौं,’ नेपथ्यको व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यस पटक पनि कलाकार र प्राविधिकसहितको भ्रमण दलदेखि लिएर अत्याधुनिक साउण्ड सिस्टमसहितको यात्रा यी चार वटै सहरमा गर्नेछौं।’
नेपालयद्वारा व्यवस्थापन गरिने नेपथ्य यात्रा विर्तामोडमा सहारा नेपालले आयोजना गर्नेछ भने धरानमा ‘एम सी कफी आवर’ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरूको संस्था ‘परिक्रमा स्टुडेन्ट्स् फेमिलि’ले कन्सर्ट आयोजना गर्दैछन्। त्यस्तै बुटवलमा ‘यस नेपाल’ र धनगढीमा ‘दाताज् इभेन्ट’ र ‘द मेन्सन् नेपाल’ले कार्यक्रम आयोजना गर्दैछन् ।
यी सम्पूर्ण कन्सर्टहरूमा दर्शकहरूका निम्ति प्रवेश शुल्कमा एकरूपता राख्दै प्रति टिकट एक हजार रुपैयाँ कायम गरिएको छ।
कार्यक्रममा सहभागिता जनाउने महिला दर्शकहरूको निमित्त सुरक्षित स्थानको पनि व्यवस्था गरिएको छ।