आरआर श्री स्कुल अफ टेक्नोलोजीले निर्माण गरेको एनिमेटेड फिल्म ‘फष्ट ब्लड’ले ‘सम्मानजनक महिनावारी’ विषयमा गरिएको चलचित्र प्रतियोगितामा पहिलो पुरस्कार जितेको छ। पुरस्कारको राशी ५० हजार रुपैयाँ छ। डेनमार्कस्थित गैरसरकारी संस्था डिसिए नेपालले आयोजना गरेको छोटो भिडियो प्रतियोगितामा अन्य आठ फिल्मलाई उछिन्दै 'फष्ट ब्लड' प्रथम भएको हो।
रेवती गुरुङ निर्देशित ‘राजवती’ ले दोश्रो पुरस्कार, आश्मा गौतम निर्देशित ‘शिखा मैनबत्तीको (रिईम्याजिन्ड) ले तेश्रो पुरस्कार हात पारेका छन्। मधु खड्काको ‘ब्रेकिङ द स्टिग्मा’ले अडियन्स अवार्ड जित्न सफल भयो। विजेताले प्रमाणपत्रका साथमा क्रमश ३० हजार, २० हजार र १० हजार रुपैयाँ प्राप्त गरे।
सम्मानजनक महिनावारीका विषयलाई उठान गर्न यो प्रतियोगिता गरिएको थियो।
डिसिए नेपालका देशीय निर्देशक डेभिड वालेस स्मिथले यस्ता सामाजिक विषय उठान निम्ति गरिएको यो महत्वपूर्ण प्रयास भएको बताए। डिसिए नेपालले गत वर्षदेखि विभिन्न सामाजिक विषयमा हरेक वर्ष छोटो चलचित्र प्रतियोगिता गर्दै आएको छ।
'महिनावारी भएको महिलालाई रजोवती भनिँदो रहेछ। हामीले यही सामाजमा दैनिक घटिरहने घटनालाई चलचित्रमा उतारेका छौं,' रेवती गुरुङले भनिन्। त्यस्तै आरआर श्री स्कुल अफ टेक्नोलोजीका रमेशमान श्रेष्ठले फष्ट ब्लड निर्माण बेला आफ्ना महिला सहकर्मीसँग समय बिताएर महिनावारी बारे कुरा गरेर, यसले पारिरहेको मानसिक असरलाई उजागर गर्न खोजेको बताएका छन्।
आवेदन परेका फिल्म मध्यबाट नौवटा फिल्म प्रतियोगिताका लागि छानिएको थियो। विभिन्न अन्तराष्ट्रिय पुरस्कार विजेता निर्देशक दीपक रौनियार, मदन पुरस्कार विजेता लेखिका तथा महिला अधिकारवादी राधा पौडेल र पानी तथा सरसफाईका विज्ञ गुणराज श्रेष्ठ सम्मिलित ‘जुरी’को समूहले यी विजेता फिल्म छानेका थिए।