साहित्यकार नयनराज पाण्डेको संस्मरणात्मक कृति ‘यार’ खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले वितरण गर्ने पद्मश्री पुरस्कार-२०७४ विजेता छनोट भएको छ। प्रतिष्ठानले आइतबार ‘यार’ सर्वोत्कृष्ट मनोनयनमा परेको घोषणा गरेको हो।
यस्तै, प्रतिष्ठानले दिने पद्मश्री साधना सम्मानबाट साहित्यकार डा. तारानाथ शर्मा पुरस्कृत हुने भएका छन्। दुबै पुरस्कारको राशी दुई-दुई लाख रुपैयाँ रहेको छ।
दुबै पुरस्कार कोगाज्रत पूर्णिमाको दिन वितरण गरिने प्रतिष्ठानले जनाएको छ। साहित्यकार पाण्डेको संस्मरण कृति ‘यार’ २०७४ पुसमा सार्वजनिक भएको थियो। संस्मरण कृति पद्मश्री पुरस्कार छनोटमा परेको ‘यार’ पहिलो हो।
पद्मश्री पुरस्कार बिजेता ‘यार’का लेखक साहित्यकार पाण्डेले संस्मरण कृति उत्कृष्ट छनोटमा परेकोमा आफूलाई गर्ब लागेको बताए।
उनले भने, ‘प्रतिष्ठानले संस्मरण कृतिलाई पनि मान्यता दिएको छ, यसले किताबको सम्मान भन्दा पनि यो विधामा लेख्ने लेखकमाथि सम्मान गरेको छ, संस्मरण लेख्नेहरूलाई उत्प्रेरणा र प्रोत्साहित गरेको छ।’
प्रतिष्ठानले हरेक वर्ष मनोनयनमा परेका कृतिहरू सार्वजनिक गर्ने गरेको थियो। तर, यसपालि मनोनयन सूची सार्वजनिक गरेको छैन।
यसअघि यो पुरस्कारबाट राष्ट्रकवि माधव घिमिरे, आख्यानकार मदनमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी, आख्यानपुरुष ध्रुवचन्द्र गौतम, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य र वरिष्ठ साहित्यकार बैरागी काइँला पुरस्कृत भइसकेका छन्।