युवा साहित्यकार बखतबहादुर शाहीको छोट्टी उपन्यास बुधबार सार्वजनिक भएको छ । भृकुटी मण्डपमा शिखा बुक्सले आयोजना गरेको कार्यक्रमा नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री अर्जुन नसिंह केसी, साहित्यकार भुवनहरि सिग्देल, लेखक स्वयम् तथा शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलद्वारा संयुक्त रुपमा लोकार्पण गरिएको हो ।
उपन्यास माथि स्वागत मन्तव्य दिँदै साहित्यकार हेमन्त विवसले उपन्यासको परिचय गराएका थिए भने पत्रकार अमृत भादगाउँलेले छोट्टी उपन्यास कर्णालीको आँखीझ्याल भएको बताए ।
साहित्यकार भुवनहरि सिग्देलले छोट्टी उपन्यासको समग्र पक्षमाथि समीक्षात्मक टिप्पणी राखेका थिए । उनले उपन्यास भित्र उल्लेख गरिएको सामाजिक सुधारको चेत उल्लेखनीय भएको बताए । कर्णाली भेगको कथा रहेको यस उपन्यासले इतिहास देखि वर्तमानसम्म समेटेको बताए । यो नारीप्रधान उपन्यासमा हुम्लामा जन्मिएकी बालिका जो सङ्घर्ष गर्दै नर्स हुन सफल रहनेको कथा हो । साथै जहाँको कथा त्यहीँको भाषा र कलमले लेखिएको उपन्यास विशेष रहेकाले यसले महिला विभेदको अन्त्य गर्न सहयोग गर्नेमा विश्वास लिए ।
प्रमुख अतिथि अर्जुन नसिंह केसीले यस उपन्यास कर्णालीको दस्तावेजको रुपमा रहनेछ भन्नेमा विश्वास लिएको बताए । उनले लेखकलाई शुभकामना दिँदै कर्णालीको अवाज यहाँसम्म ल्याएकोमा शुभेच्छा व्यक्त गरे ।
कार्यक्रममा शिखा बुक्सका प्रकाशक पुष्पराज पौडेलले सभापतिका रुपमा कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।
शिखा बुक्सले प्रकाशनमा ल्याएको उपन्यासले समाजमा रहेको महिला हिंसा, छुई प्रथा, सामाजिक विवाहवारी प्रथा र परम्परा जस्ता विषयलाई उठान गरेको लेखक बखतबहादुर शाहीले बताए । २०० पेजको उक्त पुस्तकको मूल्य ३२५ रूपैयाँ रहेको छ ।