काठमाडौं, बबरमहलस्थित आर्ट काउन्सिल छिर्ने बित्तिकैको हल। हलभरी सुट, पछ्यौरा, कुटो लगायत साम्रगी टाँगिएका छन्।
त्यही हलभित्र प्रवेश गर्नै लाग्दा प्रदर्शनीका सहजकर्ताले भन्न सक्छन्, ‘पहिले बायाँपट्टिको हलबाट प्रवेश गर्नुस् न।’
‘मेमोरी, ट्रुथ एण्ड जस्टिस’ (सम्झना, सत्य र न्याय) शीर्षकमा मंगलबारदेखि द्वन्द्वकाल सम्झाउने प्रदर्शनी भइरहेको छ। बायाँतर्फको हलमा सन् १९९६ देखि २००६ सम्म द्वन्द्वमा मारिएका, अंगभंग भएका र हराएका व्यक्तिहरूको तथ्यांक राखिएको छ।
हल अन्धकार छ। लाग्छ, अन्धकारले त्योबेलाको कहालीलाग्दो समय चित्रण गरेको छ। त्यहीबीचमा तीन वटा लालटिन बलिरहेका छन्। यसले संकेत गर्छ, द्वन्द्वकालका पीडितहरू प्रायः रातकै समय अपहरणमा परेका थिए।
अगाडि बढ्दै जाँदा हामी अर्को कोठामा पुग्छौं। त्यो कोठा हललाई नै विभाजन गरेर बनाइएको हो। अन्धकारभित्र मधुरो चिम बलिरहेको छ। किताबहरू र्याकबाट भुइँभरि छरपस्ट छन्। एउटा खाट छ। लथालिंग।
यो दृश्यबाट अनुमान लगाउन सक्छौं, यो कोठको परिवेशमा केही समयअघि नराम्रो घटना पक्कै भएको छ। ध्यान दिएर सुन्ने हो भने त्यहाँ कोही रोइकराई गरेर चिच्याइरहेको पनि सुन्न सकिन्छ।
यसको जवाफ कोठाको प्रवेशद्वार नजिकै भित्तामा टाँगिएको फ्रेममा पाइन्छ। फ्रेममा लेखिएको छ– यो एउटा युवतीको कोठा हो। उनलाई हतियारधारीले जबरजस्ती लगेर, बलात्कार गरेर मारेका हुन्।
‘यो दृश्य सत्य घटनामा आधारित हो,’ प्रदर्शनीका व्यवस्थापक बिकिल स्थापितले भने।
यस्तै सत्य घटनाका कथा भन्ने वृतचित्र चलिरहेको छ अर्को कोठामा। त्यहाँ द्वन्द्वकालमा बाँच्न सफल, अंगभंग भएका र आफन्त हराएकाहरू आफ्ना पीडा सुनाइरहेका हुन्छन्।
नजिकैको भित्तामा सांकेतिक अर्थ दिने फोटा छन्। बीचमा द्वन्द्वकालका मानिस सम्झाइदिने केही शब्द फ्रेम गरेर राखिएको छ–
‘मलाई बचाउनका लागि मेरी श्रीमतीले बलात्कृत हुनुपर्योः रामनारायण थारु, बाँके’
‘भैरवनाथ गणबाट बाँचेर आएँः उज्जवल आचार्य, काभ्रे’
‘व्यारेकमा आफ्नो मर्ने पालो कुर्दै दिनचर्या बित्थ्योः गोविन्द थारु, बर्दिया’
यिनका कथा विस्तारमा त्यही नजिकैको हेडफोनबाट सुन्न सकिन्छ। अर्को भित्तामा डिजिटल डिस्प्ले छ जसमा त्यस्तै मर्मस्पर्शी शब्द कुँदिएका छन्। यी शब्द द्वन्द्वमा हराएका, मरेका मानिसको सम्झनामा साथीभाइ एवं आफन्तले लेखेका चिठीपत्र हुन्।
अब बल्ल अर्को हलमा प्रवेश गर्दा हुन्छ। त्यहाँ हामी द्वन्द्वकालपछिका घटना बढी देख्छौं। द्वन्द्वकालपछि सामान्य जीवनमा फर्किएकाहरू देख्छौं। कोही भने त्यही द्वन्द्वले नै बिथोलिएका छन्।
हामीले अघिल्लो कोठामा शब्दहरूको माध्यमबाट कल्पना गरिरहेका दृश्यहरू चित्रझैं उपस्थित छन्। त्यो कोठामा टाँगिएका सुट, पछ्यौरा, सर्ट, घडी लगायत सामानको यथार्थ बल्ल थाहा हुन्छ।
‘२०५९ असारको महिनामा सिलाउनु भएको यो सुट मेरो बहिनीको विवाहमा एकैपटक मात्र लगाउन पाउनु भयो। उहाँलाई भदौ महिनामा त सेनाले लगिहाल्यो। उहाँ फर्कने आशामा यो सुट र टोपी साँचेर राखेको छु,’ तुलसीपुरबाट बेपत्ता भएका लोपबहादुर बिष्टकी श्रीमतीले सुट र टोपी सम्हालेर राखेकी हुन्।
त्यस्तै एउटा प्रदर्शनमा थाल र कचौरा छ। त्यहीनजिक छोरा गुमाएकी आमा तुलसीपुरकी मोहनमाला चौधरीको वर्णन छ– ‘म अझै खाना खाने बेला छोराको थालमा भाग राखेर मात्रै खान्छु। १६ वर्षदेखि यो थाल र कचौरामा राखेको खाना खान आउला भन्ने आशा अझै छ।’
यो कोठामा पनि हेडफोन र प्रदर्शन लस्करै राखिएको छ। त्यहाँ द्वन्द्वपीडितका कथा सुन्न र हेर्न सकिन्छ।
दस वर्षीय द्वन्द्वकालबाहेक पनि मानिसहरू बेपत्ता हुने क्रम जारी छ। यहाँ सातादिन अघि मात्रै घटेका त्यस्तै केही घटना पनि समावेश छन्।
शनिबारसम्म चल्ने यो प्रदर्शनीलाई ‘भोइस अफ मिडिया’ ले आयोजना गरेको हो। यी सबै घटनाबारे अध्ययन–अनुसन्धान गर्न करिब ४ वर्ष लागेको कार्यक्रम व्यवस्थापक बिकिलले बताए।
प्रदर्शनी पीडित परिवारका लागि ‘न्याय खोजी’ को एउटा माध्यम हुने उनी बताउँछन्।