नेपाल स्रष्टा समाजले आफ्नो ११ औँ साधारण सभाको अवसर परेर राजधानीमा तीन स्रष्टाको सम्मान गरेको छ।
सुभद्रा–विश्वराज स्रष्टा सम्मानबाट स्व. नारायणदत्तशास्त्री (मरणोपरान्त), दमन्ता सय खनाल स्मृतिनारी स्रष्टा सम्मानबाट साहित्यकार तथा सञ्चारकर्मी सिर्जना शर्मा र प्रसिद्ध कँडेल स्मृति राष्ट्रिय युवा स्रष्टा सम्मानबाट युवा साहित्यकार रमेश शुभेच्छु सम्मानित भएका हुन्।
प्रत्येक सम्मानको राशि नगद ११ हजार १ सय ११ रुपैयाँ छ। कार्यक्रमका प्रमुख अतिथि वाङ्मय शताव्दी पुरुष सत्यमोहन जोशीले तीनै जना स्रष्टालाई सम्मान अर्पण गरेका थिए।
सुभद्रा–विश्वराज स्रष्टा सम्मान विधान आचार्यले आफ्ना माता पिताका नाममा स्थापना गरेका हुन्। दमन्ता खनाल स्मृतिनारी स्रष्टा सम्मान ममतामयी आमाका नाममा पुष्पा खनालले गरेकी हुन्। प्रसिद्ध कँडेल स्मृति राष्ट्रिययुवा स्रष्टा सम्मान स्रष्टाद्वय चेतनाथ कँडेल हरित र सीता कँडेलका स्वर्गीय छोरा प्रसिद्धको नाममा स्थापना भएको हो। यी सम्मान यसै वर्ष स्थापना गरिएका हुन्।
कार्यक्रममा कवि शंकर कुमार राईको हामी केही हौइनौं र नै केही हौं कविता संग्रह तथा जीवनाथ पोखरेलको जीवनका यात्रा नामक नियात्राको लोर्कापण भयो ।
स्रष्टा समाज नयाँ नेतृत्वमा कवि विधान आचार्य निर्विरोध निर्वाचित भएका छन्। असोज ६ गते सम्पन्न स्रष्टा समाजको ११ औं साधारण सभाबाट आगामी दुई वर्षका लागि कवि विधान आचार्य नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन निर्वाचित भएको हो।
सो कार्य समितिमा प्रा.डा. गोविन्दमानसिंह कार्की उपाध्यक्ष, पुष्पा खनाल महासचिव, नवराज तिमल्सिना अवदोषी कोषाध्यक्ष, जानु धिताल सचिव पदमा निर्विरोध निर्वाचित भए। कार्यसमितिका सदस्यहरुमा डा. विष्णु राई, डा. पुष्करराज भट्ट, नबराज पुडासैनी ज्योत्स्ना, तर्कना शर्मा, लेखराज खत्री, रश्मी रिमाल समेत निर्विरोध निर्वाचित भएका छन्।
साधारण सभाका अवसरमा वर्तमान अध्यक्ष पवन आलोकले नव निर्वाचित कार्यसमितिलाई बधाई दिँदै संस्थाको विधानअनुसार संरक्षक सदस्यमा रहन एक लाखको चेक हस्तान्तरण गरेका थिए।
कवि राजेन्द्र गुरागाईंले नव निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरे। नव निर्वाचित अध्यक्ष आचार्यले नव गठित कार्यसमितिका सदस्यहरुको परिचय समेत गराएका थिए।
समारोहमा प्रमुखअतिथि वाङ्मय शताव्दी पुरुष, सत्यमोहनजोशीले साहित्यकारले आफ्नो आनन्दका लागि मात्र साहित्य सिर्जना नगरी समाज परिवर्तनका लागि लाग्नु पर्ने बताए। उनले नेपाली साहित्यको विकास, विस्तार र सम्वर्द्धनमा नेपाल स्रष्टा समाजले उच्च योगदानको पुर्याएको भन्दै आगामी दिनमा नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणमा ध्यान दिनुपर्ने बताए ।