रियल जोडी आयुष्मान देशराज जोशी र प्रियंका कार्की अभिनीत सिनेमा ‘चङ्गा चेट’को पहिलो गीत रिलिज गरिएको छ । ‘गोजीमा दाम छैन’ बोलको गीतलाई सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो।
गीतमा सिनेमाका मुख्य कलाकार प्रियंका कार्की, आयुष्मान देशराज जोशी, संदीप क्षेत्री, परमिता आरएल राणा, सुरक्षा पन्त र रविन्द्र झालाई फिचर्ड गरिएको छ ।
राजनराज सिवाकोटीको संगीत रहेको गीतलाई मेलिना राई र ग्रीष्मा सिवाकोटीले स्वर दिएका छन्। गीतको शब्द हरिहर तिमल्सिनाले लेखेका हुन्। यो गीतमा प्रविन सिंहको कोरियोग्राफी रहेको छ ।
गीतमा प्रियंका कार्की र आयुष्मान देशराज जोशीको रियल जोडी,यस्तै रविन्द्र झासँग अभिनेत्री सुरक्षा पन्तको जोडी र सन्दिप क्षेत्रीसँग परमिता आरएल राणाको जोडी बाँधिएको छ । गीतमार्फत् फिल्मको कथा प्रस्ट्याइएको छ । पैसा नहुने मान्छेको कुनै काम नहुने कुरा गीतले बोल्छ ।
माधव वाग्ले र शर्मिला पाण्डे निर्मित यस सिनेमा लाई दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन् ।
काठमाडौं बसेर संघर्ष गरिरहेका पात्रको कथा सिनेमाले बोल्नेछ । गीत सार्वजनिक गरेसँगै निर्माण टिमले सिनेमाको नयाँ प्रदर्शन मिति पनि घोषणा गरेको छ । यसअघि भाद्र १५ गते आउने तय भएको यो सिनेमाको रिलिज डेट अब कात्तिक १६ गतेलाई सारेका छन्।
सिनेमाको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । यो सिनेमामा अर्जुन पोखरेलको पनि संगीत छ । निरक कँडेलको छायांकन रहेको सिनेमाको सम्पादन दिर्घ खड्काले गरेका हुन् ।