चौतारी एउटा विश्रामस्थल हो। यहाँ विभिन्न मान्छे भेला हुन्छन्, गफ गर्छन्, विचार आदान-प्रदान गर्छन्।
केही समयअघि ललितपुर, चाकुपाटस्थित 'एमक्युब ग्यालरी'मा विभिन्न देशका मान्छे भेला भए। एउटा चैतारी जस्तै बन्यो, कलाको।
त्यही चौतारीमा कलाकारले कलाको माध्यमबाट विचार आदान-प्रदान गरेका छन्। अनि ‘चौतारी’ शीर्षकमा प्रदर्शनी गरिरहेका छन्। त्यसमा पाँच जना विदेशी र तीन नेपालीको कला संग्रहित छ।
ग्यालरीको प्रवेशद्वारबाट प्रदर्शनी भइरहेको ठाउँसम्मै निला र हरिया ढुंगा लहरै ओछ्याइएका छन्। यी ढुंगा मात्रै नभई एकअर्कासँग जोडिने माध्यम भएको कलाकार नविना सुनुवार बताउँछिन्। निलो रगंलाई उनले प्रकृतिबाट मिल्ने शितलतासँग तुलना गरेकी छन् भने हरियोलाई प्रकृतिसँग जोडेकी छन्। केहीमा रङ लगाइएको छैन। प्राकृतिक रुपमै छाडिएको छ।
ग्यालरीको एउटा कुनामा सेतो रुख छ। सुनुवार र अटलान्टाबाट आएकी मूर्तिकार हना ऐलेनले यो बनाएका हुन्। निकै आकर्षक सेतो रुखलाई ‘ट्वाइलेट पेपर’ले बनाइएको हो। यो कागज निकै कमजोर हुन्छ। यसलाई जोडेर रुख बनाउँदा भने मजबुत भएको छ। चैतारीको कार्यक्रममा ऐलेनले यसका हाँगा तन्काएर कतिको बलियो छ? भनेर देखाएकी थिइन्। रुखलाई जति नियाल्दै गयो यसले एकता र समूहको महत्व अनुभूत गराउँछ।
रुखको बायाँपट्टि स–साना प्लास्टिकमा फोटो झुण्डाइएका छन्। ‘बबल’ नाम दिइएको यी फोटोमा काठमाडौंका आकृतिलाई ‘बबल’ भित्र कैद गरिएका छन्। यसले सहर र मान्छेबीचको सम्बन्ध सम्झाउने एमक्यूबका क्युरेटर मनिसलाल श्रेष्ठ बताउँछन्।
‘यसभित्र सहरका कथा र जीवनशैली देखाउन खोजिएको छ। जनसंख्या वृद्धिसँगै सहरमा बढेको सकस देखाउन खोजिएको हो,’ उनले भने।
रुखको दायाँपट्टि तास जोडेर बनाइएको ‘टावर’ छ। यसले नेपालको राजनैतिक परिवेश बताइरहेको जस्तो देखिन्छ। दुई खण्डमध्ये माथिल्लो भागमा साना अकंका तास छन्। यी बीचमा मानिसको दिनचर्या देखाइएको छ। भूकम्पपश्चात मानिसको जीवनमा आएको विकराल परिस्थिति देखाइएको छ।
तलको खण्डमा दस अंकभन्दा माथिका ठूला तास छन्। ब्राण्डन वेलच्कोले बनाएको कलाकृतिमा शासनसत्तामा पुगेका व्यक्तिले कसरी जनतालाई उन्नति गर्न दिदैँनन् भनेर देखाउन खोजिएको छ।
यीसँगै प्लास्टिकको बोतलमा एटलान्टाकी ड्यानियल गोन्जालिजले बनाएको ‘आर्ट अफ वेस्ट’, पवन सुनवारको ‘फल्सवुड’ शीर्षकमा बाकसको फ्रेमभित्र बनाएको कलात्मक जञ्जाल, मिकेल नोर्टनको ‘क्यापासिटी-इन-क्यापासिटी’ लगायत कला पनि आकर्षक र अर्थपूर्ण छन्।
यी कलालाई आठ कलाकारले एक महिना लगाएर बनाएका हुन्। यसबाट विभिन्न देशको सँस्कृति र सभ्यता आदान-प्रदान भएको कलाकार यजु मानन्धरले बताए। उनको ‘इनसिंगुलारिटी’ शीर्षकमा तस्विर छ। त्यहाँ उनले सडकमा चप्पलहरूको समूह बनाएका छन्। ‘यसले शान्तिपूर्ण विरोध जनाइरहेका छन्,’ उनले भने।
'एमक्युब ग्यालरी' मा यो प्रदर्शनी मंगलबारसम्म चल्नेछ।
सबै तस्बिरहरू : नारायण महर्जन/सेतोपाटी