उपत्यकाका सम्पूर्ण हलमा मंगलबारदेखि बक्स अफिस प्रणाली लागू भएको छ।
चलचित्र निर्माता संघ, नेपाल चलचित्र संघ तथा विभिन्न सरोकारवाला पक्षसँग भएको छलफलपछि १७ बुँदे सहमति भएको हो।
चलचित्र क्षेत्रको वास्तविक कमाइको एकीकृत विवरण देखाउने प्रणाली बक्स अफिस हो। यो प्रणालीबाट कुन हलमा कति टिकट विक्री भयो भन्ने आधिकारिक तथ्यांक लिन सकिन्छ। सम्पूर्ण हलमा सफ्टवेयरमार्फत् सर्भरमा लिङ्क गराउँदै यसले तथ्याङ्क संकलन गर्छ।
निर्माता, वितरक र हल सञ्चालकबीच भएको त्रिपक्षीय सहमतिमा हलमा लागेका फिल्मले टिकट दर तोक्ने सम्झौता भएको छ। सम्झौताअनुसार अब सिनेमा हलले प्रदर्शन गर्ने फिल्मको ट्रेलर, ब्यानर, पोष्टर र स्ट्याण्डीसमेतको प्रचार सामग्रीको दुई हप्तासम्म निःशुल्क सेवा दिनुपर्नेछ।
मल्टिप्लेक्सले सेयरको रकम प्रत्येक हप्तामा फिल्म प्रदर्शनपश्चात् वितरकले भ्याट बिल जारी गरेको दुई हप्ताभित्र अनिवार्य रूपमा भुक्तानी गर्नुपर्ने छ।
सिंगल स्टेसनको हकमा फिल्म उत्रेको दुई हप्ताभित्र भुक्तानी दिनुपर्ने अन्यथा उक्त अवधिभित्र भुक्तानी नभएमा निर्माता संघ र चलचित्र संघको संयुक्त कार्यदलले गरेको निर्णयअनुसार हर्जानासहित कारबाहीसमेत गरिने सम्झौता भएको छ।