किरात खालिङ राई भाषाको गीतले पहिलो पटक राष्ट्रिय अवार्ड जितेको छ।
‘देल्कम् हेङ् मोओ रैछ..’ बोलको खालिङ गीतका गायक पूर्ण राईले सर्वोत्कृष्ट गायनको अवार्ड जितेका हुन्। गीतको रचना गायक स्वयमको हो। त्यसैगरी संगीत र संगीत संयोजन पबिधन खालिङको छ।
नेपाल भाषिक-सांस्कृतिक विविधता भएको मुलुक भएता पनि नेपाली भाषा अन्तर्गतका बिभिन्न राष्ट्रिय अवार्ड तथा सम्मान कार्यक्रम मात्र हुँदै आईरहेको थियो। यसैबीच नेशनल पावर न्यूज इन्टरनेशनलको आयोजनामा भएको म्युजिक अवार्ड कार्यक्रममा खालिङ राई भाषाको गीत उत्कृष्ट भएको हो।
कार्यक्रममा चलचित्र, आधुनिक, लोकपप, लोकगीत तथा भाषिक विधाबाट राई, मगर, गुरुङ, शेर्पा, लिम्बु, थारु, नेपाल भाषा, तामाङ लगायत दर्जनौ भाषिक गीतहरु समावेश थिए।
समारोहमा सर्वोत्कृष्ट रचना, संगीत, गायन, म्युजिक भिडियो तथा कृटिक्स अवार्ड प्रदान गरिएको थियो।
नेपालको पहिलो समाबेशी अवार्ड समारोहका प्रमुख अथिति कानुन तथा न्याय मन्त्री शेर बहादुर तामाङ तथा नेपाली राष्ट्रियगानका रचनाकार प्रदिप कुमार राई (ब्याकुल माईला) ले संयुक्त रुपमा सर्वोत्कृष्ट कलाकारहरुलाई अवार्ड प्रदान गरेका थिए।