मदन पुरस्कार गुठीले यस वर्षको पुरस्कारका निम्ति अन्तिम सूची सार्वजनिक गरेको छ। सोमबार गरिएको आठ वटा पुस्तकको सिफारिसमा माओवादी नेता मोहन वैद्य ‘किरण’को पुस्तकसमेत समाविष्ट छ।
गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार यस वर्ष पुरस्कारका निम्ति ‘कैरन’ (ध्रुवसत्य परियार), ‘नथिया’ (सरस्वती प्रतीक्षा), ‘पाठशाला’ (तीर्थ गुरुङ), ‘भुइँया’ (यज्ञस), ‘यार’ (नयनराज पाण्डे), ‘योगमाया’ (निलम कार्की ‘निहारिका’), ‘लिम्बुनी गाउँ’ (राज माङलाक) र ‘हिमाली दर्शन’ (मोहन वैद्य ‘किरण’) परेका छन्।
यसैबीच पद्यश्री साहित्य पुरस्कारले भने यस वर्षदेखि छोटो सूची निकाल्ने प्रकृया बन्दको घोषणा गरेको छ।
खेमलाल हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले आइतबार सामाजिक सञ्जाल मार्फत् विगतमा पाँच पुस्तक मनोनयन गरिएको र यस वर्षदेखि उत्कृष्ठ १० पुस्तक मनोनयन गरी घोषणा गर्ने उल्लेख गरिएकोमा प्रतिष्ठानको निर्णयअनुसार यो प्रक्रियालाई स्थगित गरिएको जनाएका छन्।
लामिछानेका अनुसार यस वर्षदेखि प्रतिष्ठानको पुरस्कार चयन समितिले सिधै पुरस्कृत पुस्तक मात्र घोषणा गर्नेछ।