साहित्यकार झमक घिमिरेको ३८ औं जन्मदिनको अवसरमा साहित्य उत्सव कार्यक्रम आयोजना गरिएको छ।
साहित्यकार घिमिरेको जन्मस्थान धनकुटामा उनको जन्मदिन असार २१ गते आयोजना गरिएको साहित्य उत्सवमा विभिन्न जिल्लाबाट आएका कविहरूले कविता प्रस्तुत गरेका थिए।
झमक घिमिरेको रचना कविता ‘इजलास’ प्रतिष्ठानका नवनिर्वाचित उपाध्यक्ष तथा कवि अनिता लामाले वाचन गरेपछि क्रमशः कविहरू उमानाथ घिमिरे, मुकुन्द प्रयास, मोहन ढुङ्गेल, घनश्याम बराल, रोशन परियार, अनन्त अनुराग, नरेन्द्र कश्चित, यादव तिम्सिना, पवित्रा साउदेन, गोपाल भण्डारी, सन्तवीर लामा लगायतले आ–आफ्ना कविता वाचन गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि एवं प्रदेश १ का सभामुख प्रदिप भण्डारी र धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी मनोहर खनालले झमकको प्रतिभा र व्यक्तित्वलाई धनकुटावासीले ग्रहणीय ढङ्गले लिनुपर्ने र नेपाल सरकारले विशेष चासोका साथ लिनुपर्ने बताए।
कार्यक्रममा झमक घिमिरे साहित्य कला प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष गोपाल गुरागाईले प्रतिष्ठानको तर्फबाट एक अवधारणा पत्र प्रस्तुत गरेका थिए।
कार्यक्रममा प्रथम महिला पत्रकार समूहको टोलीबाट गत वैशाखमा सफलतापूर्वक सगरमाथा आरोहण गरेकी देउराली चाम्लिङ्गले सगरमाथा आरोहणको अनुभव बताउँदै सगरमाथाको चुचुरोमा झमक घिमिरेको तस्वीरसहित जीवन्त कृति जीवन काँडा कि फूल पुर्याएको बताइन्।
कार्यक्रममा धनकुटा बहुमुखी क्याम्पसका प्रमुख निरञ्जन वस्ती, जिल्ला समन्वय समिति प्रमुख टंक चौहान लगायतको उपस्थिति थियो।
साहित्यकार झमक घिमिरेको प्रकाशित कृतिहरूको संरक्षण, सम्बद्र्धन, प्रचारप्रसार तथा उनीभित्र रहेको विशिष्ट क्षमता र प्रतिभाको उजागर, सदुपयोग गरी प्रेरणा र हौसला प्रदान गर्ने उद्देश्यले २०६३ सालमा स्थापित झमक घिमिरे साहित्य कला प्रतिष्ठानको चौथो साधारण सभाले गोपाल गुरागाईको अध्यक्षतामा, अनिता लामा उपाध्यक्ष, जनार्दन घिमिरे ‘गोठाले’ सचिव, गीता अधिकारी उपसचिव, सरोज भुजेल कोषाध्यक्ष तथा सदस्यहरूमा मुकुन्द प्रयास र चन्द्रकला धमाला निर्वाचित गरेको छ।
साहित्यकार झमक घिमिरे संरक्षक रहेको प्रतिष्ठानको कार्य समितिको अन्य सदस्यहरू कार्यसमितिको बैठकले पछि मनोनित गर्ने निर्णय समेत गरेको छ।