नाटकको ९ वटै रस नृत्यमा देख्न सकिन्छ। त्यसैमा शास्त्रीय नृत्यबाट आएको कथक पर्छ। यो नृत्यलाई पौराणिक कथा भन्ने माध्यमका रूपमा लिइन्छ। यही नृत्यबाट ऐतिहासिक चरित्र राजेन्द्रलक्ष्मीको कथा भन्ने जमर्को निर्देशक नम्रता केसीले गरेकी छन्।
रानी राजेन्द्रलक्ष्मीलाई नेपाल एकीकरण गर्ने साहसिक एवं शक्तिशाली नारीको रूपमा लिइन्छ। पुरूषप्रधान समाजमा पतिको मृत्युपश्चात आफ्नै शासनमा सरकार चलाउने पहिलो रानी उनै थिइन्। राजा पृथ्वीनारायण शाहकी बुहारी रहेकी उनले पृथ्वीनारायणले थालेको एकीकरणको अभियान सफल पार्न आफैं युद्धमा होमिएकी थिइन्। त्यसै क्रममा चौबीसे राज्यको संयुक्त आक्रमणलाई विफल तुल्याउँदै नेपालको सीमाना कालीगण्डकीसम्म फैलाएकी थिइन्।
नेपाल एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी उनै योद्धाको इतिहासमा भने छिटपुट मात्र वर्णन पाइन्छ। यही कुराले नम्रतालाई राजेन्द्रलक्ष्मीको जीवनमा नाटक 'राजेन्द्रलक्ष्मी' बनाउन घच्घचाएको रहेछ।
‘सानोमा राजेन्द्रलक्ष्मीको कथा पाठ्यक्रमका पुस्तकमा पढेको थिए। त्यसमा २/४ हरफ मात्र उनको बारेमा लेखिएको थियो,’ नम्रताले नाटक बनाउनुको कारण खुलाइन्, ‘भारतमा नृत्य सिक्ने क्रममा झाँसीको रानीको कथामा नाटक हेरेको थिएँ। यो नाटकले हाम्रा पनि साहसका कथा छन् भनेर सोच्न बाध्य बनायो। त्यही बेला सानोमा पढेको राजेन्द्रलक्ष्मी सम्झिएँ।’
इतिहासमा छिटपुट मात्र भेटिने राजेन्द्रलक्ष्मीको कथालाई विस्तृत जान्न उनी ज्ञान मण्डलीसमेत पुगिछन्। त्यहाँबाट पनि धेरै तथ्य फेला नपर्दा केही काल्पनिक कुरा पनि थपेको उनले बताइन्।
अनि ऐतिहासिक कालखण्डलाई बताउन कथक नृत्यनाटिका नै किन?
राजेन्द्रलक्ष्मीको कथा भन्ने विभिन्न तरिका हुन सक्थ्यो। नृत्यमा पनि विभिन्न प्रकार छन्। तर उनले शास्त्रीय नृत्यबाट आएको जुन नृत्यलाई रोजिन्, त्यो उनको जीवनसँग जोडिएको नृत्य पनि हो। पछिल्लो पटक उनले सरुभक्तद्वारा लेखिएको कथा ‘ज्यानमाया’मा नृत्यनाटिका मञ्चन गरेकी थिइन्।
‘म आफैं कथकको नृत्यकर्मी हुँ। यसैको माध्यमबाट कथालाई राम्रोसँग भन्न सकिन्छ जस्तो लागेर रोजेकी हुँ,’ उनले भनिन्, ‘आगामी दिनमा लोकनृत्यमा पनि नाटक बनाउने सोच छ।’
मण्डला नाटकघरमा मञ्चन भइरहेको नृत्यनाटिकामा नम्रतासहित निश्मा घिमिरे, रिगा घिमिरे, कुन्ती सिमाली, मनिषा बस्नेत, पवन पाठक, निशा कार्की, लगायतको अभिनय देख्न सकिन्छ।
रमाइलो पक्ष त के भने इतिहासमा साहसी भनिएका पुरुष पात्रको भूमिका पनि यिनै महिलाले निभाएका छन्।
‘कथकलाई महिलाको नृत्यको रूपमा लिइने भएकाले पुरुष पात्र कम छन्,’ उनले भनिन्, ‘यदि उनीहरूले अभिनय गर्न मान्दैनन् भने हामी आफैंले महिलाको साहसको कथा किन नभन्ने त भनेर पुरुषको भूमिकामा प्रस्तुत गरेको हो।’
नाटक असार २४ गतेसम्म मञ्चन हुनेछ।
सबै तस्बिरहरूः नारायण महर्जन