केही दिनअघि बोस्टन विमानस्थल ओर्लनेबित्तिकै नेपथ्यका मुख्य गायक अमृत गुरुङ सोझै एमआइटीको (म्यासाचुसेट्स ईन्स्टिच्युट अफ टेक्नोलोजी) परिसरमा पुगे जहाँ केही जागरुक स्वयंसेवीले यस भेगका नेपाली केटाकेटीहरुका निम्ति आफ्नो भाषाको कक्षा चलाइरहेका थिए।
‘यस्तो पर पनि मातृभाषा सिक्न चाहने यतिविघ्न नेपाली फूलहरु फक्रिरहेको देख्दा असाध्यै खुशी लाग्यो,’ अमृतले भनेका थिए, ‘कुनै दिन नेपाल घुम्न गएका बेला तपाईंहरुका हजुरबुवा हजुरआमा वा अन्य आफन्तसँग जब कुराकानी गर्न सक्नुहुनेछ, त्यतिबेलै यसको महत्व बुझ्नुहुनेछ।’
त्यसको एक सातापछि नै अमृत आफ्नो नेपथ्य टोलीका साथ शहरकै मध्य भागमा रहेका ‘रोयाल बोस्टन’ हलमा आफूलाई फरक नेपाली जमातका माझ प्रस्तुत गरिरहेका थिए। त्यस सभागृहमा निश्चित उमेरका मानिसलाई मात्र प्रवेश अनुमति भएकाले ती भाषा सिकिरहेका केटाकेटी उपस्थित हुन नसके पनि तिनका अभिभावक भने थिए।
अमृतले एक साताअघि केटाकेटीलाई भनेकै कुरा यहाँ पनि बेग्लै शैलीमा दोहोर्याए।
‘आइतबारको साप्ताहिक विदाका बेला चार घन्टा नेपाली भाषा सिकिरहेका केटाकेटीलाई देखेर मलाई असाध्यै खुशी लाग्यो,’ अमृतले भने, ‘यस्तो राम्रो उद्देश्यका निम्ति तपाईंहरुले आफ्नो सप्ताहान्तको बहुमूल्य समय लगाएर आफ्ना बच्चा त्यहाँ पुर्याइरहनुभएकामा सबैलाई धन्यवाद दिन चाहन्छु।’
ती कलिला बालबालिकालाई सातामा चार घन्टा मात्र भाषा पढाउन लगाएर दायित्व पूरा नहुने पनि उनले उल्लेख गरे।
‘एउटा सामान्य तर असाध्यै महत्वपूर्ण योगदान तपाईंहरुले थपिदिन सक्नुहुनेछ,’ अमृतले अगाडि भने, ‘ती केटाकेटीहरुसँग तपाईंहरुले घरमा नेपाली नै बोलिदिनुस्।’
त्यसपछि अमृतले अष्ट्रेलिया सांगीतिक भ्रमणका बेला भेटिएका एक नेपाली बालकसँगको अनुभव सुनाए। ती बालक कुनै समय नेपाल पुगेका रहेछन् र अब फेरि कहिल्यै नफर्किने धारणा बनाएर फर्केका रहेछन्। किन यसो भएछ भनेर बुझ्दा ती बालकले तीतो अनुभव सुनाए।
‘मलाई त्यो ठाउँ र मेरा हजुरबुवा हजुरआमालाई भेट्दा एकदमै रमाइलो लागेको थियो,’ बालकले भनेका थिए, ‘तर, उहाँहरुसँग कुराकानी गर्नै नसक्दा असाध्यै नरमाइलो लाग्यो।’
आफूले नेपाली नजान्ने र आफ्ना हजुरबुवा हजुरआमाले अंग्रेजी बोल्नै नसक्ने अवस्थामा पुगेको उनले सुनाए। त्यस्तो अवस्था फेरि झेल्न आफू अब नेपाल नजाने ती बालकले सुनाएका थिए।
ती बालकको अवस्था बयान गरेपछि अमृतले अमेरिकाको यस मञ्चबाटै बोस्टनका नेपालीहरुलाई अनुरोध गर्न चाहे।
‘त्यस्तो अवस्था हाम्रा कुनै पनि केटाकेटीले फेरि झेल्नु नपरोस्,’ उनले भने, ‘के गर्ने भन्ने निधो तपाईंहरुले गर्ने हो र मलाई थाहा छ तपाईंहरुले बुद्धिमानीपूर्वक यसको फैसला गर्नुहुनेछ।’
कतिपय नेपालीले विदेशमा आफ्ना केटाकेटीलाई जातीय भाषा पनि सिकाउने गरेकामा त्यो झनै उत्तम रहेको उनले औंल्याए।
‘तर, नेपालमा नेपाली भाषाले नै सबै जातिलाई सम्पर्क भाषाका रुपमा जोडेको छ,’ उनले थपे, ‘यो एउटा भाषा तपाईंका केटाकेटीले बोल्न सके भने मुलुकको जुनसुकै भागमा पुगेर पनि आफ्ना कुरा बुझाउन सक्नेछन्।’
यति भनेपछि अमृतले त्यहाँ उपस्थित सम्पूर्ण अभिभावकलाई एकछिनसम्म ताली बजाएर सम्मान प्रकट गरे। प्रतिउत्तरमा हलभरिका दर्शकले पनि ताली बजाएरै उनका भनाइको स्वागत गरेका थिए।
यति कुराकानी गरिसकेपछि अमृतले सुनाएको नेपथ्यको नयाँ गीत थियो–
‘तिमी पनि नेपाली, म पनि नेपाली, हामी नेपाली’
नेपाली भाषा र विदेशमा हुर्किरहेका भावी पुस्ताको बारेमा यी सन्दर्भ निकाल्नुअघि ब्याण्डले सदाजस्तै पृष्ठभूमिमा घडी देखाएर ठ्याक्कै समयमा कार्यक्रम सुरु गरेको थियो।
त्यसपछि नेपथ्यका सदाबहार गीतहरु ‘आँगनै भरि’, ‘छेक्यो छेक्यो’, ‘जोमसोमे बजार’, ‘उडायो रेलैले’ र लोकप्रिय गीतहरु ‘रेश्शम्’ र ‘तालको पानी’ सुनाएको थियो। त्यसैगरि ब्याण्डका नयाँ गीतहरु ‘कोशीको पानी’ र ‘शिरफूल शिरैमा’ पनि दर्शकले उत्तिकै मनपराएका थिए।
कार्यक्रममा ‘हामी नेपाली’, ‘गाउँ गाउँबाट उठ’ र ‘रातो र चन्द्रसूर्य’ जस्ता देशभक्तिका गीत पनि गाइएको थियो।
‘हामीले थालेको नेपाली कक्षा चलाउने प्रयासलाई अमृत दाइले सराहना गरिदिनुभएकामा असाध्यै प्रोत्साहित भएका छौं,’ कार्यक्रमका आयोजकमध्ये एक तमु समाजकी सम्झना गुरुङले भनिन्, ‘उहाँले गर्नुभएको आव्हानलाई सबैले ग्रहण गरिदिनेछन् भन्ने विश्वास लिएकी छु।’
बोस्टनमा यो कार्यक्रम आयोजना गर्न ‘तमु समाज’ले ‘जात्रा नेपाल’सँग मिलेर सहकार्य गरेको थियो।
‘बोस्टनमा यसअघि पनि हामीले धेरै कार्यक्रमहरु आयोजना गरेका थियौं,’ आयोजक टिमका उज्ज्वल धौवडेलले भने, ‘यो चाहिँ अहिलेसम्मकै सबैभन्दा ठूलो मात्र होइन हाम्रो निम्ति व्यवस्थित र शालिन आयोजनाको अनुभव बन्न पुग्यो।’
धौवडेलले आफूहरुका निम्ति यो कन्सर्ट मात्र नभएर एउटा अनुभवका रुपमा पनि उल्लेखनीय बनेको सुनाए।
बोस्टनको यो कन्सर्टसँगै नेपथ्यले अमेरिकाको दुई सहरका निम्ति गरेको यात्रा पनि सम्पन्न गरेको छ। प्राविधिक र व्यवस्थापकीय टोलीसहितको ब्याण्ड नेपालतर्फ लागेको छ।