सर्वाधिक नेपाली फिल्म सिक्वलको कीर्तिमान बनाएको नेपाली ड्रामा फिल्म 'नाईं नभन्नू ल'ले आफ्नो पाँचौ श्रृखंलाको फस्ट लुक पोस्टार सार्वजनिक गरेको छ। 'नाईं नभन्नू ल ५'ले आइतबार २ पोस्टरहरू सार्वजनिक गरेको हो।
सार्वजनिक पोस्टरमा फिल्मबाट डेब्यू गर्न लागेका अभिषेक नेपाललाई अभिनेत्री स्वस्तिमा खड्कासँग देख्न सकिन्छ भने बाल कलाकार अनुभव रेग्मीलाई अर्की डेब्यू बाल कलाकार सेड्रिना शर्मासँग देख्न सकिन्छ।
फिल्ममा थुप्रै सिनियर कलाकार भए पनि निर्माण टिमले पछिल्लो पुस्ताका कलाकारलाई सार्वजनिक गर्दै प्रचार प्रसार थालेको हो । निर्देशक विकास आचार्यले फिल्मको कथा अनुसार फिल्मको फस्ट लुक सार्वजनिक गरेको जानकारी दिए ।
आचार्यले अघिल्ला फिल्हरू झे यो फिल्म पनि पारिवारिक ड्रामा फिल्म बनाएको बताए। उनका अनुसार नेपालमा पछिल्लो समय पारिवारिक फिल्म निर्माण खास नभइरहेकोले आफ्नो फिल्मले दर्शकहरूको मन जित्नेर दाबी गरे। उनले आफ्ना अघिल्ला श्रृखंलाहरू प्रति दर्शकले देखाएको मायाले यसलाई पुष्टि गर्ने बताउँछन्।
‘नाईं नभन्नूल ५ सदा झैं फेमली ड्रामा हो । तर यो सिरिजमा फेमली ड्रामासँगै लभस्टोरीलाई उत्तिकै स्थान दिएका छौं । पोस्टर यस्तै कथाको झझल्को हो’ आचार्यले भने ।त्यस्तै फिल्ममा कलाकारको जम्बो टोली छ । फिल्ममा दिलिप रायमाझी, निरुता सिंह, केकी अधिकारी, प्रियंका कार्की, स्वस्तिमा खड्का, जयनन्द लामा, बुद्धि तामाङ आदि कलाकारको अभिनय छ ।
हरेक सिरिजबाट कसै न कसैलाई डेब्यु गराउँदै आएका आचार्यले यो फिल्मबाट अभिषेक नेपाल र सेड्रिना शर्मालाई डेब्यु गराएका छन् । अभिषेकले स्वस्तिमाको जोडी भएर अभिनय गरेका छन् भने सेड्रिना अनुभवको जोडीको रुपमा देखिनेछन् ।
फिल्मलाई विकास आचार्य र सामीप्यराज तिमल्सेना मिलेर लेखेका हुन् भने फिल्मका छायांकार पुरुषोत्तम प्रधानले हुन् । बसन्त सापकोटाको संगीत रहेको फिल्मका सम्पादकमा अर्जुन जिसी छन् ।