भूकम्पपश्चात क्षति भएका भवन एवं मठमन्दिर धमाधम पुनर्निर्माण भइरहेका छन्। पुनर्निर्माणको क्रममा केही पुराना घरले भने मौलिक स्वरूप गुमाए।
त्यस्तै, संरक्षण ऐन पालना नगर्दा सम्पदा पुनर्निर्माणमा हेलचेक्रयाईं बढिरहेको छ। यसैबीच, मूर्तिकार चन्द्र श्याम डंगोलले ‘इनहेरिटेन्स्’ शिर्षकमा ढुंगाका कलात्मक मूर्ति प्रदर्शन गरिरहेका छन्।
‘इन्हेरिटेन्स्’ भनेको एक पुस्ताबाट अर्कोमा हस्तान्तरण हुनु हो। हाम्रा सम्पदा पनि पुस्तौंदेखि हस्तान्तरण हुँदै आएका छन्। असार १४ सम्म चल्ने प्रदर्शनीमा हस्तान्तरण हुँदै आएका पुराना सम्पदालाई ढुंगाको मुर्तिमा देख्न सकिन्छ।
डंगोलका अनुसार उनी सानैदेखि मूर्तिकलामा जोडिएका हुन्। उनका बुवा धातुका मूर्ति बनाउथे। बुवाकै प्रेरणामा उनी भने ढुंगाका मूर्ति बनाउने काममा जोडिए। विगत २५ वर्षदेखि उनी ढुंगाका मूर्ति बनाइरहेका छन्। यसका लागि उनी फर्पिङदेखि ढुंगा ल्याउछन् र त्यसलाई परम्परागत ‘सिंगल स्टोन’ वा ‘इन्टरलक’ शैलीमा निर्माण गर्छन्।
यिनै मध्येका करिब २० मूर्ति प्रदर्शनीमा देख्न सकिन्छ। तिनमा बौद्ध स्तुप, लोकेश्वर, सुकुन्दा, भगवानका मूर्ति लगायत देख्न सकिन्छ। जसमा लिच्छविकालीन सम्पदा पनि समेटिएको छ। विक्रीका लागि राखिएका यी मूर्तिको मूल्य करिब १ देखि १२ लाखसम्म छ। त्यसैमध्येको भगवान बुद्धको दिनचर्या बताउने मूर्ति भने विक्री नगर्ने उनी बताउँछन्।
‘यसलाई मैले दुई वर्ष लगाएर बनाएको हो,’ उनले भने, ‘मेरो लागि यो मूर्ति विशेष छ। यसैले बेच्दिन्।’
भूकम्पपश्चातको पुनर्निर्माणबाट भने डंगोल सन्तुष्ट छैनन्। यिनमा कलाकार एवं विज्ञलाई संलग्न गराउन सके पुनर्निर्माणको कार्य फलदायी हुने र मौलिक स्वरूपको जगेर्ना हुने उनी बताउँछन्।
‘हाम्रा मौलिक सम्पदा निकै अमूल्य छन्,’ उनले भने, ‘यसको महत्व नयाँ पुस्ताले पनि थाहाँ पाउनुपर्छ। यसैले संरक्षण गर्न जरुरी छ।’