युवास्टार अनमोल केसीले दृष्टिविहिन महिलाको सहयोगार्थ देशका चार प्रमूख शहरहरुमा हुने कार्यक्रममा लाईभ प्रस्तुती दिने भएका छन् । शनिवार राजधानीमा मोनिका इन्टरनेशनल ग्रूपले पत्रकार सम्मेलन गर्दै 'अनमोल साँझ २०१८'बारे जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा अनमोल आँफै उपस्थित भई कार्यक्रमको उद्देश्य तथा आफ्नो प्रस्तुतिबारे जानकारी दिए।
अनमोलले पहिलो पटक आफ्ना प्रशंसकसँग प्रत्यक्ष भेट्ने अवसर पाउन लागेकोमा खुसी व्यक्त गर्दै भने, 'अहिलेसम्म मैले सामाजिक कार्यका लागि भनेर कुनै काम गरेको थिइन । यो मेरो लागि ठूलो अवसर हो । साथै, प्रशंसकसँग प्रत्यक्ष रुपमा भेट गर्न मलाई यो कार्यक्रमले ठूलो सहयोग गर्नेछ ।'
कार्यक्रम भदौ ९ बाट सुरू हुनेछ।
चारवटै कार्यक्रममा अनमोलले नृत्य तथा गायन कला प्रस्तुत गर्नेछन्। कार्यक्रमको लागि अनमोलले पारिश्रमिक नलिएको आयोजकले कार्यक्रममा बताए । सामाजिक कार्यको लागि कार्यक्रम गर्न लागिएकोले आफुले पारिश्रमिक नलिएको अनमोललेको भनाइ थियो ।
भाद्र ९ गते बुटवलबाट सुरू हुने कार्यक्रम क्रमश: भाद्र १६ गते पोखरा, भाद्र २३ गते चितवन र विर्तामोडमा भाद्र २७ मा पुगेर समापन हुनेछ।
यस कन्सर्टका लागि अहिलेसम्म अनमोलसँग स्टेज शेयर अभिनेत्री प्रियंका कार्कीले गर्ने तय भएको छ । अन्य कलाकारको टुंगो चाँडै लाग्ने आयोजक संस्थाले बताएको छ ।