भानु बोखिमको पहिलो कथासङ्ग्रह रूमानी साँझ सार्वजनिक भएको छ। राजधानीको मण्डला थिएटरमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो।
पुस्तकबारे बोल्दै साहित्यकार नवराज लम्सालले सुन्दर भाषा शैलीमा लेखिएका भानुका कथाहरूमा समाजको जीवन्त चित्रण रहेको बताए। ‘कथाकारले आफ्ना विचारलाई भन्न पात्रको उचित चयन गरेर पात्रलाई उभ्याएका छन्, त्यसैले कथाकारले विभिन्न गाउँ घुम्दा देखेको घटना र उब्जिएका भावना समेटेर लेखिएका कथाहरू सत्यका नजिक छन्।’ लम्सालले समीक्षाका क्रममा बताए।
कथाकार बोखिमले रेडियो नेपालमा नवराज लम्सालकै कार्यक्रम सुनेर आफू कथालेखनतर्फ अग्रसर भएको सम्झना सुनाए। एण्टेना फाउण्डेसनको लागि धेरै नाटक लेखेको, नाटक खोज्दै गाउँघरमा पुगेको र यात्राकै क्रममा रूमानी साँझको परिकल्पना आएको पनि लेखकले बताए। उनका अनुसार पुस्तकमा २०६३ पछि लेखिएका सोह्र वटा कथाहरू समावेश गरिएको छ।
यस्तै शाब्दिक बुक्सका तर्फबाट प्रकाशक नरेन्द्रकुमार नगरकोटीले साहित्यको क्षेत्रमा केही उल्लेख्य काम गर्न सकौं भन्ने अभिप्रायले प्रकाशन कार्य आरम्भ गरेको बताए। उनले चाँडै नै किशोर साहित्य र शैक्षिक साहित्यका पुस्तकहरू पनि प्रकाशन गर्ने लक्ष्य रहेको प्रष्ट्याए।
फरक ढङ्गले पुस्तक विमोचन गरिएको कार्यक्रममा सभापति तथा प्रमुख अतिथि थिएनन्। प्रकाशक, स्रष्टा र समीक्षकले छोटो मन्तव्य दिई कार्यक्रम समापन गरिएको थियो।