काभ्रेका युवाकवि सूर्य लाकोजूले गीत, कविता, मुक्तक र हाइकुसहित आफ्नो एकल सृजना वाचन सम्पन्न गरेका छन्। अक्षरमार्ग सिर्जना समूहले शनिबार आयोजना गरेको सिर्जनालयको पहिलो श्रृङखलामा उभिएर उनले साहित्य पारखीलाई न्यानो बनाएका हुन् ।
आमा शिर्षक कविताबाट वाचन थालेका लाकोजूले पिता शिर्षक कविताबाट कार्यक्रम समापन गरेका थिए। उनलाई सुन्न दुई सय रुपैयाँको टिकट काटेका दर्शकले स्थानीय ज्ञान विकास पुस्तकालय भरिभराउ थियो ।
दर्शक तथा श्रोताले वान्स मोर भन्दै हुटिङ गर्दा कवि जोशिए । उनले दर्जन कविता, दर्जन मुक्तक, केही हाइकु र गीत सुनाए ।
हालसम्म १५ वटा साहित्यिक पुस्तक लेखिसकेका लाकोजूका सृजनामा मायाप्रेम, राजनीति, सामाजिक विभेद आदि छचल्किएको हुन्छ । उनले मधुशाला, सुन किन चाहियो, भीमसेन थापाहरु, पातैको माया, धरतीको जून लगायत गज्जबका मुक्तक सुनाए ।
उनले सुनाएका कविताका शिर्षकहरुमा मेरो घाम, म पद्मावती, म सक्छु, बुँख्याचा, बुद्ध र युद्ध, आधुनिक महाभारत, ऐनाको ब्यापार लगायत थिए।