जब मालिकको हेपाइबाट मजदुर रिसाउँछ तब उसले दुई किसिमले प्रतिवाद गर्छ। एउटा औंला ठड्याएर र अर्को शालिन ढंगले छातीमा रामवाण तेर्साएर। तिनै मालिकका थिचोमिचो र असमान व्यवहारप्रति शालिन विद्रोह गर्छन कवि हेमन्त विवशका कविताहरु पनि।
शनिबार धनगढीमा विवशले शालिन ढंगले अन्यायबिरुद्ध औंला ठड्याएर सबैको मन जिते। सय रुपैयाँको टिकट काटेर कविता सुन्न आएकाहरु दुई घन्टासम्म मन्त्रमुग्ध बने।
पुस्तौनी मालिकको हलो जोतेर आफू बसेको झुपडी समेत आफ्नो नाउँमा नभएका हलीको मर्मस्पशी कविता सुन्दा श्रोताहरु भावुक बने। ताली बजाएर कविलाई समर्थन जनाए।
तिम्रो मोबाइ, क्यामेरा र ल्यापटपभन्दाबहुमुल्य छन् मैले बोकेका चकमक, झुलो र दर्शनढुँगाकिनकि यिनमा टाँसिएका छन् माटोका कणहहरुमाटोका कण टाँसिएको जिन्दगी छ मसंसहरेक पर्वादी र तिनमा गाइने डेउडा, धमारी चैतसबैमा देख्छु मैले माटोका तिनै कणहरु
डोटीमा जन्मे, हुर्केका विवशका गीत, कविता र गजलमा सुदूरपश्चिमको सुबास पाइन्छ। उनका अधिकाँश श्रृजनामा कतै हलीको जीवन, कतै भरियाको सुस्केरा, कतै सेती किनारमा गिट्टी कुट्नेहरुको आँसु अनि कतै गोसाईं (मालिक)का बेइमानी छताछुल्ल हुन्छ।
धनगढीको रुबस होटलमा दिउसो खचाखच दर्शक सामु विवशले सिमान्तकृत भुइँ मान्छेका कथा व्यथा सुनाए। उनले सुरुमै पर्यटनकर्मी अमर शाहीलाई सम्झे। ’मसँग अरु चिजको घमण्ड गर्नु दुःखको घमण्ड कहिल्यै नगर्नु’, विवशले शाहीको भनाई उधृत गरे, ’कसै भन्दा कम दुःख मैले पनि कमाएको छैन।’
तिनै शाहीसंगको संगतले भुइँ मान्छेका कथा लेख्न झन बल पुर्याएको विवशले सुनाए। उनले भगवानको खोजी शिर्षक कविताबाट वाचन शुभारम्भ गरेका थिए। उनले हली, बा दमाहा र ढोलक, देशको खोजी, कतारको रैबार, भुकम्प र राहत, कौशी र बाबा जस्ता मर्मस्पर्शी कविता सुनाए। छन्दका गीत र डेउडा पनि गाए।
उनले मौनता शिर्षक कविताबाट एकल वाचनको बिट मारे। कार्यक्रममा उनले सुदूरपश्चिमेली जीवनका बिम्बहरु मात्र पस्किएका होइनन, देशभक्तिका कविता पनि सुनाए। राष्ट्रिय भावनाले ओतप्रोत देशको खोजी र प्यारो छ नेपाल जस्ता कविता सुनाएका थिए।
शनिबार रचना वाचन समूहको प्रस्तुतिमा रोट्रयाक्ट क्लब अफ धनगढी, नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी र सुदूरपश्चिमाञ्चल गजल मञ्चले संयुक्त रुपमा एकल वाचन कार्यक्रम आयोजना गरेका हुन्। कार्यक्रमलाई रैका ट्राभल्स र रुबस होटलले सहयोग गरेका थिए।
कार्यक्रममा गायक शिशिर साधकको समूहले विवशका केही गीत गाएर दर्शकको मन जितेको थियो। साधकलाई संगीतकारहरु बसञ्त साधक, देवराज गिरी, शिशिर रानाभाटले साथ दिएका थिए।
एकल रचन वाचनबाट कविलाई राम्रोसँग चिन्न सकिन्छ। सुदूरपश्चिमबाट उदाएर शसक्त कविको चिनारी बनाएका विवशलाई आफ्नै भेगका साहित्यपारखिले एकल वाचन मार्फत सम्मान गरेका हुन्।
रचना वाचन समूहका सदस्य एवं सुदूरपश्चिमाञ्चल गजल मञ्चका पूर्व अध्यक्ष टोपेन्द्र शाह भन्छन्–’कवि हेमन्त विवशले सुदूरपश्चिमको आञ्चलिकता बोकेर लेखिरहनु भएको छ। सुदूरपश्चिमलाई चिनाउने यस्तै विम्बहरु प्रयोग गरेर अरुलाई पनि प्रेरित गर्ने उद्धेश्यले हामीले उहाँको एकल कविता वाचन गरेका हौं।’
गर्धनभरि सयपत्री फूलको माला लगाएर मञ्चमा बस्ने वित्तिकै विवश भावुक बनेका थिए। उनलाई सुरुमै महाकाव्यकार मनिराज जोशीले सयपत्री फूलको माला लगाइदिएका थिए भने साहित्यकार पदमराज जोशीले रुद्राक्षको माला।
उद्घोषण गरेका कवि जनक रसिकले विवशका कविताले सुदूरपश्चिम बोलेको चर्चा गरे। त्यसैगरी समूहका सदस्य अभि अजनवीले विवशलाई बौलाहा कविको उपमा दिए। एउटा बौलाहा जो कविताको प्रेममा पागल भएको छ। ’कविता बाहेक अरु सोच्नै नसक्ने विवश बौलाहा हुन्’, उनले भने, ’हाम्रो साहित्यलाई सम्बृद्ध बनाउन हामीलाई यस्तै कविहरु चाहिएको छ।’
कवितामा मानवीय पीडाका गहिराईभित्र आस्था अड्याउने ठाउँ खोज्दै हिँडेका विवश साँस्कृतिक अध्येता पनि हुन्। उनका ‘विवशका स्रमाई, असौजको जून र यादै जनमभरि’ गरी तीन वटा गीति एल्बम, आफ्नै मनसँग र सैपालको आँगन कवितासँग्रह तथा कथा एउटै तिम्रो मेरो प्रकाशित छन्। रेडियो नेपालबाट विसं २०६८ सालका लागि उनले उत्कृष्ट गीतकार पुरस्कार पाएका थिए। उनका दुइ दर्जन डेउडा गीत रेकर्ड भएक छन्। डेउडा गीतमा उनले आफ्नो स्वर समेत दिएका छन्। उनका तीन दर्जन आधुनिक गीत पनि रेकर्ड भैसकेका छन्।
विवशको यो दोस्रो एकल वाचन हो। यस अघि गएको असोज ५ गते अलिमियाँ लोक वाङमय प्रतिष्ठानले पोखरामा उनको एकल वाचन कार्यक्रम आयोजना गरेको थियो।