घटस्थापनाका दिन एकल कविता वाचन मार्फत पर्यटकीय नगरी पोखराका साहित्यप्रेमीको मन जित्न सफल भएका डोट्याली कवि हेमन्त विवशले आउँदो शनिबार धनगढीको माहोल पनि तताउने भएका छन् ।
रचना वाचन समूहको प्रस्तुती रहने ‘कवि हेमन्त विवशको एकल रचना वाचन कार्यक्रम’मा मंसिर २ गते उनले धनगढीको रुबस होटलमा दिउसो १ बजेदेखि गद्य र छन्द कविता वाचन गर्नेछन् ।
रोट्रयाक्ट क्लब अफ धनगढी, नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी, सुदूरपश्चिमाञ्चल गजल मञ्च र रैका ट्राभल्सले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रमलाई होटल रुबस लगायत संस्थाले सहयोग गर्दैछन् ।
एकल वाचनको निम्तो पाएपछि विवश हौसिएका छन् । गीत तथा कवितामा भुइँमान्छेका कथा उन्दै आएका उनले धनगढीमा दुई दर्जन कविता सुनाउने तयारी गरेका छन् । धनगढीको कार्यक्रम कवि विवशको जीवनमा दोस्रो एकल वाचन कार्यक्रम हुनेछ ।
कविता सुृन्न सय रुपैयाँको टिकट काट्नु पर्ने आयोजकले जनाएका छन् ।
कवितामा मानवीय पीडाका गहिराईभित्र आस्था अड्याउने ठाउँ खोज्दै हिँडेका विवशका सृजनामा आञ्चलिक स्वाद पाइन्छ । विवश साँस्कृतिक अध्येता पनि हुन् । उनले सुदूरपश्चिमेली संस्कृतिको विषयमा विभिन्न पत्रपत्रिकामा आलेखहरु पनि लेख्दै आएका छन् ।
उनका ‘विवशका स्रमाई, असौजको जून र यादै जनमभरि’ गरी तीन वटा गीति एल्बम, आफ्नै मनसँग र सैपालको आँगन कवितासँग्रह तथा कथा एउटै तिम्रो मेरो प्रकाशित छन् । रेडियो नेपालबाट विसं २०६८ सालका लागि उनले उत्कृष्ट गीतकार पुरस्कार पाएका थिए । उनका करिब तीन दर्जन गीत रेर्कडेड भैसकेका छन् ।