काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल(किम्फ)को पन्ध्रौं संस्करण सुरु हुन लागेको छ। काठमाडौँको कुमारी हलमा यही मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म किम्फ हुन गइरहेको हाे।
याे पटककाे किम्फमा नेपालसहित ३७ देशका फिल्महरू प्रदर्शनका लागि छानिएका छन्। अन्तर्रा्ष्ट्रिय प्रतिस्पर्धामा १५ र प्रतिस्पर्धा बाहिरबाट ४८ वटा फिल्महरू परेका छन्। नेपाल पानोरामा अन्तर्गत १५ वटा फिल्म देखाइनेछन्।
किम्फमा यो पटक साहसिक खेलकुद, पर्वतारोहण, पर्वतीय समाज र संस्कृति, पर्वतीय जीवनशैली तथा वातावरण संरक्षण आदि विषय समेटिएका वृत्तचित्र, कथानक चलचित्र, लघु चलचित्र, एनिमेसन र प्रयोगवादी फिल्महरू देखाइनेछन्।
किम्फका अध्यक्ष वसन्त थापाले भने, ‘हामी किम्फको पन्ध्रौं महोत्सव मनाउन लागेका छौं। हाम्रा शुभचिन्तक र दर्शकहरूबाट हामीलाई मिल्दै आएको सहयोगबाट हामी यहाँसम्म आइपुगेका छौं। हामी नवीन कुराहरू थपेर अझ बढी युवाहरूलाई आकर्षित गर्ने प्रयासमा छौं।’
किम्फको निर्णायक मण्डलमा बान्फ माउन्टेन फिल्म फेस्टिभलका जोआना क्रोस्टन, भारतका रीना मोहन र नेपालका केसाङ छेतेन रहेका छन्।
बेन नाइट्लीद्वारा निर्दे्शित ‘द लास्ट हनिहन्टर’ नामक ३५ मिनेटको डकुमेन्ट्रीसहित यो पटकको किम्फ एसिया प्रिमियरबाट सुरु हुनेछ। यस्तै किम्फकाे समापन भुटानका जोङसार जामयाङ खेन्चे रिम्पोचेद्वारा निर्दे्शित ‘हेमा हेमास् सिङ मी अ सङ ह्वाइल आइ वेट’को विशेष प्रदर्शन सहित हुनेछ।
नेपाल र बेलायतको संयुक्त प्रयासमा बनेको ९३ मिनेट लामो डकुमेन्ट्री ‘चिल्ड्रेन अफ स्नो’ को वर्ल्ड प्रिमियर तथा विश्वविख्यात ब्रिटिस पर्वतारोही सर क्रिस बोनिङ्टनको जीवनमा आधारित डकुमेन्ट्री ‘बोनिङ्गटन स् द माउन्टेनर’को एसिया प्रिमियर पनि यस पटकको किम्फमागरिनेछ। त्यसैगरी इटली र क्यानडाको संयुक्त फिल्म ‘मिडनाइट सन स् द जर्नी होम’ को विशेष प्रदर्शन हुनेछ।
किम्फमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, नेपाल पानोरामा अन्तर्गत आख्यान र गैरआख्यान विधा, किम्फ अडियन्स अवार्ड र फिल्म समीक्षक समाजले उत्कृष्ट ठहर्याएको फिल्मले अन्तर्रा्ष्ट्रिय फिल्म समाजको तर्फबाट नगद एवम् ट्रफी पाउनेछ।