दोस्रो काठमाडौं अक्षरा थियटर फेस्टिबल सकिएको छ। शनिबारबाट शुरु महोत्सवमा दस राष्ट्रका बालबालिकाको सहभागी थियो।
बिभिन्न देशबाट सहभागि नाटकका सहभागीलाई संस्कृतिविद् सत्यमोहन जोशीले मायाको चिनो प्रदान गरेर विदाइ गरे। नाटक महोत्सवको अन्तिम दिन संस्कृतिविद् सत्यमोहन जोशी नाटक हेर्न अक्षरा पुगेका थिए।
काँडाघारीको अक्षरा स्कुलको अभि थियटरमा अभिभावक, शिक्षक, विद्यार्थी खचाखच थिए। दर्शकदिर्घाको अग्रपंतिमा बसेर जोशीले नाटकको आनन्द पनि लिए। बंगलादेश, डेनमार्क, भाारत, पाकिस्तान, श्रीलंका, जर्मनी, रसिया, इन्डोनेसिया, स्लोभाकिया, स्विजरल्यान्डबाट सहभागी महोत्सवमा सबै देशले नाटक प्रस्तुत गरेका थिए।
महोत्सवको तेस्रो दिन कलाकार राजेश हमाल नाटक हेर्न आएका थिए। उनले नाटक मात्रै हेरेनन्, बालबालिकालाई उत्प्रेरणा पनि दिए।
नाटकको पहिलो शो सकिनासाथ बालबालिकाबीच उनी घेरिए। हातमा डायरी बोकेका बालबालिकाले अनेक प्रश्न सोध्न भ्याए। महोत्सवको उद्घाटन प्राध्यापक डाक्टर अभि सुवेदीले गरेका थिए। सुवेदीले यस्ता महोत्सवले मुलुकमा रंगमन्च संस्कृति विकास गर्न सघाउ पुग्ने प्रतिक्रिया दिए।
‘बालबालिकाको लागि थियटरको कन्सेप्ट ल्याएर स्कुलले उदाहरणीय काम गरेको छ,’ सुबेदीले बताए।
श्रीलंकन राजदूत डब्लु एस पेरेराले पनि नाटक अवलोकन गरेकी थिइन्। जेठ १२ देखि शुरु भएको महोत्सव १५ गते समापन भएको हो।
‘हाम्रा बालबालिकाले यस्ता अनेक अनुभव, अनुभूति संगाल्दै नाटक महोत्सव सम्पन्न गरेका छन्,’ स्कुलकी प्रिन्सिपल अन्जु भट्टराइले भनिन्,‘यो हाम्रो लागि पनि सिकाइ हो। यसले हाम्रा बालबालिकालाई एक अर्कालाई बुझ्ने, एक अर्काको संस्कृतिबाट सिक्ने अवसरको पाएका छन्।’
उनले ग्लोबल सिटिजन तयार गर्न एक अर्कालाई बुझ्नु पर्ने धारणा राखिन्। ‘सिकाइको हिसाबले यो महोत्सव महत्वपूर्ण रह्यो’, भट्टराईले भनिन्।
बंगलादेश, डेनमार्क, भाारत, पाकिस्तान, श्रीलंका, जर्मनी, रसिया, इन्डोनेसिया, स्लोभाकिया, स्विजरल्यान्ड सहभागी महोत्सवमा अक्षरा स्कुल र बंगलादेशले ११ वटा नाटक प्रस्तुत गरेका थिए।
नाटक हेर्न राजधानीका ५० विद्यालयका ५ हजार विद्यार्थीले आएका थिए।