जिल्ला जनस्वास्थ्य कार्यालय मोरङमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीले छापा मारेको छ। जनताको नाममा आएका विभिन्न कार्यक्रमको बजेटलाई पेश्कीको रुपमा लिएर लामो समयसम्म फछ्र्यौट नगर्ने कर्मचारीहरुलाई छानबिनको दायरामा ल्याइएको आयोगको क्षेत्रीय कार्यालयले जनाएको छ।
उजुरी परेपछि कार्यालयले २०६६/०६७ यताका सवै श्रेष्ता ( कागजात ) नियन्त्रणमा लिएर छानबिन अगाडि बढाइएको आयोग क्षेत्रीय कार्यालयका प्रमुख प्रेमप्रसाद भट्टराईले जानकारी दिए।
स्रोतका अनुसार पेश्की लिएर फछ्र्यौट नगर्ने कार्यालयका ७ जना कर्मचारी छन् । त्यसमध्येमा सवैभन्दा बढी पेश्की कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत वासिल मियाँको नाममा देखिएको छ। अनुसन्धानको क्रममा आ.व. २०७१/०७२ मा मात्रै ३२ लाख रुपैयाँ पेश्की मियाँको नाममा देखिएको छ।
मियाँ १५ वर्षदेखि मोरङमा कार्यरत छन् । उनको सरूवा हुँदा पनि दवाव र नजरानाका आधारमा मोरङमै बस्दै आएका हुन्। उनले कार्यालयका अन्य ‘सिनियर’कर्मचारीको कुरा पनि सुन्दैनन्। जिल्ला जनस्वास्थ्य कार्यालयमा उदेश श्रेष्ठ, सुमन सुबेदी, नर्बु मोक्तानलगायतका कर्मचारी वर्षौदेखि बस्दै आएका छन् ।
यस विषयमा जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख चन्द्रदेव मेहताले अख्तियारले कागजात नियन्त्रणमा लिएको बताए । उनका अनुसार अख्तियारले गरेको छड्केका क्रममा कार्यालयमा पोशाक नलगाउने र बिना सूचना अनुपस्थित रहने कर्मचारी समेत भेटिएका थिए।