भारतविरूद्ध दोस्रो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले ८७ रनको अग्रता लिएको छ। सोमबार दोस्रो दिनको खेलमा भोजनको समय अगाडि भ्रमणकारी कंगारु टोलीले ३९ रनमा आफ्नो थप ४ विकेट गुमाएको थियो।
भारतले पहिलो इनिङमा बनाएको १ सय ८९ रनको जवाफमा अस्ट्रेलियाले २ सय ७६ रन बनाएको छ।
पहिलो दिन त्यति उपयोग नगरिएका स्पिनर रवीन्द्र जडेजालाई आज कप्तान विराट कोहलीले मौका दिए। उनले ४ मध्ये ३ विकेट लिएपछि अस्ट्रेलिया चाँडै खुम्चियो।
जडेजाले २१ दशमलव ४ ओभरमा १ मेडनसहित ६३ रन खर्चेर ६ विकेट लिए। उनको अस्ट्रेलियाविरूद्ध उत्कृष्ट बलिङ प्रदर्शन हो। यसअघि २०१३ मा उनले दिल्ली टेस्टमा ५८ रन खर्चेर ५ विकेट लिएका थिए।
जडेजाकोे ५२ इनिङमा ५ भन्दा बढि विकेट सातौं पल्ट लिएका हुन्। यसै सिजन इङ्ल्यान्डविरूद्ध चिन्नई टेस्टमा ७ विकेट लिएका जडेजाको दोस्रो उत्कृष्ट बलिङ प्रदर्शन पनि हो।
अस्ट्रेलियाका लागि पहिलो इनिङमा माट रेनशाले ६०, साउन मार्सले ६६ र विकेटकिपर म्याथ्यु वाडेले ४० रन बनाएका थिए।