मधेशी जनअधिकार फोरम लोकतान्त्रिक नेपालका केन्द्रीय अध्यक्ष विजयकुमार गच्छदारले सात प्रदेशसहितको संविधान नै कार्यान्वयनको बाधक रहेको बताएका छन्।
राजवंशी ताजपुरिया सांस्कृतिक पर्यटन महोत्सवको समापनको अवसरमा शनिबार झापाको गौरीगंज आइपुगेका पूर्वउपप्रधान तथा गृहमन्त्री गच्दारले राजनीतिक दलहरुबीच संविधान जारी गर्नु अगाडि आठ प्रदेश सहितको संविधान जारी गर्ने सहमति भए पनि ठूला दलहरुले आफू अनुकुल बनाउन सात प्रदेश सहितको संविधान जारी गर्दा मधेशी, जनजाति, दलित समुदायलाई समेट्न नसकेको बताए।
विविधताले भरिएको मुलुकमा सबै जात जाति धर्म संस्कृति, पहिचान र अधिकारको संरक्षण र सम्वर्धन गर्न सके मात्र मुलुकको राजनैतिक खिचातानीको अन्त्य भई समृद्व नेपाल बन्न सक्ने उनको भनाई थियो ।
हाम्रो देश भाषा, धर्म, संस्कृति र प्राकृतिक दृष्टिकोणले भरिभराउ र सुन्दर भए पनि राजनैतिक उतरचढाब र दलहरुबीच असहमति आर्थिकरुपमा पछाडि परेका कारण विकासले फड्को मार्न नसक्दा नेपाली जनताले दुःख पाएको उनले बताए । २०७४ माघ भित्रमा तीनै प्रकारका चुनावहरु सम्पन्न गर्न नसके सविंधान नै असफल भई देश दुर्घटनामा पर्न सक्ने उनको भनाई थियो ।
राजवंशी ताजपुरिया समुदायको भाषा, संस्कृति, रहनसहन, खानपिन, भेषभूषालाई उत्थान गर्न सञ्चालन गरिएको महोत्सवमा झापा, मोरङ, सुनसरी, भारतको विहार, आसाम, पश्चिम बंगालसहितको स्थानबाट उल्लेखिय मात्रामा सहभागिता रहेको थियो।
महोत्सवले राजवंशी ताजपुरिया समुदायहरुले पछिल्लो पुस्तामा आएर भाषा, संस्कृति र भेषभूषालाई विर्सिएकाले भावि सन्ततिहरुलाई समेत जानकारी गराउन महोत्सव आयोजना गरिएको महोत्सव समितिका वरिष्ठ सह–संयोजक गंगाराम ताजपुरियाले बताए । वर्तमान परिस्थितिमा समेत राजवंशी ताजपुरिया समुदाय राज्यको पहुचबाट टाढा रहेकाले राज्यले दिने सेवा सुविधामा सहभागिता जनाउनु पर्ने उनको भनाई थियो ।
कार्यक्रममा राजवंशी ताजपुरियाको संस्कृतिक पहिचान झल्कने पौराणिक तथा आधुनिक नृत्य, गीत, नाटक प्रस्तुत गरिएको थियो भने जातीय पौराणिक सामाग्रीहरु प्रदर्शनमा राखिएको थियो ।