म्याग्दीमा प्रस्तावित रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटलाई तोक्नुपर्ने भन्दै स्थानीय आन्दोलनमा उत्रेका छन्।
स्थानीय तहको पुनःसंरचनाका लागि गठित आयोगले ठूलो जनसङ्ख्यालाई सास्ती हुने गरी रघुगङ्गा गाउँपालिकाको केन्द्र अस्थायी रुपमा पाखापानी तोकेको विरोधमा उनीहरु आन्दोलनमा उत्रेका हुन्। रघुगङ्गा गाउँपालिका नागरिक आन्दोलन सङ्घर्ष समितिले आज सडकमा चक्काजाम, बेनीमा दबाबमूलक प्रदर्शनलगायतका दबाबमूलक आन्दोलन थालेका छन्।
उनीहरुले गाउँपालिकामा समेटिएको पिप्ले गलेश्वरमा सवारी साधन आगमनमा रोक लगाउँदा बेनी–जोमसोम सडकखण्डका सवारी साधन आवतजावत गर्न सकेका छैनन् । उनीहरुले पिप्लेतर्फको गलेश्वरस्थित रघुगङ्गा खोलाको पुलमा धर्नासहित अनिश्चितकालीन यातायात बन्द गराएका छन् । व्यावहारिक रुपमा गाउँपालिकाको केन्द्र तोक्न माग गर्दै जिल्ला निर्वाचन कार्यालय र जिविसमा समेत तालाबन्दी गरिएको सङ्घर्ष समितिका बालकृष्ण सुवेदीले बताए।
पिप्ले, भगवती, बेगखोला, दग्नाम र चिमखोला गाविसका प्रतिनिधिहरु सम्मिलित टोलीले गाउँपालिकाको केन्द्र मौवाफाँटलाई तोक्नुपर्ने भन्दै विरोधस्वरुप बुधवार दुई कार्यालयमा तालाबन्दी गरेका थिए । उनीहरुले निर्वाचन कार्यालय र जिविसमा तालाबन्दीपछि प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललाई समेत आफ्नो आन्दोलनका कार्यक्रमबारे ध्यानकर्षण गराएका छन् ।
सरोकार समितिले उठाएको आन्दोलनमा जिल्लामा क्रियाशील राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिम्मेवार नेताहरुले समेत ऐक्यबद्धता जनाएका छन् ।
गाउँपालिकामा समावेश भएका गाविसको प्रशासनिक सुगमता र भौगोलिक बनावटका साथै बस्ती विस्तारको सम्भावनाले मौवाफाँटलाई केन्द्र बनाउन पटक पटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएपछि चरणबद्ध सङ्घर्षका कार्यक्रमसहित आन्दोलनमा उत्रिनुपरेको सङ्घर्ष समितिका विनोद केसीले बताए । रासस