संविधान संशोधन विधेयक संसदमा छलफलका लागि अघि बढाउन सभामुख ओनसरी घर्तीले मंगलबार संसद बैठक डाकेकी थिइन्।
बैठक सुरू हुनुभन्दा केही समय अघि प्रमुख दलका प्रमुख सचेतकहरूको छुट्टै बैठक बोलाइन्। दिउँसो १ बजे बस्ने बैठक आधाघन्टा अगाडि सूचना टाँसेर स्थगित भयो।
किन स्थगित भयो, अन्तिम समयमा सेतोपाटीको प्रश्नमा सभामुख ओनसरी घर्तिले भनिन्- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालकको विशेष आग्रहमा आजको बैठक स्थगित भएको हो,’ उनले भनिन्, ‘भानुभक्त ढकालले संशोधनका लागि सबै दलसँग छलफल गरेर अगाडि बढौं। हामीले पनि पार्टीमा छलफल गर्न बाँकी छ। भोलिसम्मका लागि समय दिनुहोस् भन्ने विशेष आग्रह गरेपछि आजको बैठक सूचना टासेर स्थगित भएको हो।’
अपरान्ह १२ बजे बोलाइएको बैठकले संशोधन विधेयकलाई संसदमा पेश गर्नेकी नगर्ने भन्ने टुंगो लगाउने थियो।
यसअघि तयार पारिएको सम्भावित कार्यसूचीमा भने संशोधन विधेयकलाई राखिएको थिएन। स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै संशोधन विधेयकलाई संसदमा अघि बढाउने सरकारले निर्णय गरिसकेको छ। सरकारले निर्णय गरेपनि संसदमा पेश गर्ने कि नगर्ने भन्ने अधिकार सभामुखसँग रहन्छ।
प्रमुख विपक्षी नेकपा एमालेको अवरोधका बीचमा सरकारले पुस २४ गतेको संसद बैठकमा संशोधन विधेयक पेश गरेको थियो। निर्वाचनको मिति घोषणा भएसँगै संसदमा छलफलका लागि एमाले लचिलो हुने संकेत देखाएको छ।
एमालेको विरोधका बिच संसदमा संशोधन विधेयकमाथिको छलफल राखेको भए उसले बहिष्कार गर्ने र नराखेको भए मोर्चाले बहिष्कार गर्ने भएकाले सबैलाई समेट्न यस्तो गरिएको घर्तिले जानकारी दिइन्।
अब भोलि बस्ने बैठकमा संविधान संशोधन वियेयकमाथि सैदान्तिक छलफल हुने वा दलहरूले यसलाई कसरी अगाडि बढाउँछन् हेर्ने बताइन्।
‘यदि दलहरूले यसलाई प्रक्रियामा सहमति गरे भने सजिलो हुन्छ, होइन भने तीनदिनको संशोधन समय दिए त्यसालाई निर्णयार्थ गर्नुपर्ने हुन्छ,’ उनले भनिन्, यदि यसमा पनि कुरा नमिले समितिमा पठाउनुपर्ने हुन्छ जसका लागि छुट्टै समितिको निर्माण गर्नुपर्ने हुन्छ।’