सानोमा दन्त्यकथाहरु सुन्ने खुब रहर हुन्थ्यो।
गाउँ जाँदा उकालो बाटोमा धेरैपटक बुवाले कथा नभनेसम्म हिँड्न नमानेको याद आउँछ मलाई।
अंकललाई त झन् म कत्ति दुःख दिन्थेँ भने उहाँको काँधमाथि चढेर कथा भन्न लगाउँथेँ। म फुच्चेलाई आफ्नो काँधमा बोकेर कथा भन्दै हिँड्दा, अंकल पनि आफ्नो बाटो काटेको पत्तो पाउनुहुन्नथ्यो सायद।
सानोमा कहिले बुवासँग त कहिले आमासँग नेपालका धेरै जिल्लाहरु पुग्दा मैले सुनेका दन्त्यकथाहरुको साँची बनेका छन्, त्यो ठाँउको गोरेटोहरु।
गाउँमा हजुरआमाको काखमा लुट्पुटिएर दन्त्यकथा सुन्दासुन्दै निदाएको छु।
यसरी दन्त्यकथा सुन्ने लत नै बस्यो। दन्त्यकथा मात्रै नभएर कथाहरुमा पनि बिस्तारै एकोहोरिन थालेँ म।
४–५ कक्षा पढ्दा ९–१० कक्षाको नेपाली किताब खोजेर कथाहरु पढ्न थालेँ। शिशीर वसन्तको कथा सबैभन्दा बढी पढियो होला।
एकताका ६ कक्षातिर होस्टल बस्दा एकजना सरले सिरिजमा कथा सुनाउनु भएको थियो। ७ दिन लामो त्यो दन्यकथा त बिर्सिएँ। तर उहाँले स्कूल छोडेर गएको दिनदेखि स्कूल जान धेरैदिनसम्म मन नलाग्नुको कारण उहाँले भन्ने कथा नै थियो।
यत्तिले मात्रै मेरो कथाको प्यास मेटिएन। साझा पुस्तकबाट निस्किएको दन्त्यकथाहरुको सँगालो भेट्टाएपछि पटक–पटक एउटै कथा पढेको छु। एक पुस्ताले अर्को पुस्तालाई सुनाउँदै आएको दन्त्यकथाहरुको लिखितम् सबैभन्दा बढी मैले दन्त्यकथाहरुको सँगालोमै भेटेको हुँ।
राजकुमार, परी, राक्षस अनि आफूले देखे–भोगेको समाजभन्दा पर कतै कल्पनाको संसार त्यसबेला खुब बनाउदै हिँड्थेँ म।
वायुपंखी घोडा, राम्री राजकुमारीको कल्पनाले पछिसम्म पछ्याइरह्यो मलाई। बाटोमा जाँदा कतै गुफा देखियो भने मगजभरि ती कथाका गुफा नाच्न थाल्थे। कथाको राजकुमारले झैं ती गुफाहरुको रहस्य खोतल्न मन लाग्थ्यो। म फुच्चे मनमनै त्यस्ता गुफा पार गरेर टाढा पुगेको कल्पना गर्थें। टन्नै असर्फीहरु भेट्टाउँथे म कल्पनामै। सुनको महल, चाँदीको खाट अनि त्यो खाटमा सुत्ने राजकुमारी...
मेरो मन उडेर कहाँ–कहाँ पुगिदिन्थ्यो, सम्हालिएर फर्किनै गाह्रो।
मलाई अझै याद छ, म एसएलसी दिँदाताका पनि दन्त्यकथाका किताबहरु खोजेर पढ्थेँ। आजकाल पनि ती कथाहरुको किताब, किताब¥याकमा भेटिँदा पढ्न खुब मजा लाग्छ।
दन्त्यकथा पढ्ने सिलसिला यत्तिमै टुङिगएन।
अलि ठूलो भएपछि मिथहरु खोज्न थालेँ। जागिर खाँदा अफिसको नेटको सदुपयोग गर्दै मैले ग्रिक मिथोलोजी, रोमन मिथोलोजी देखि लिएर माया सभ्यतासम्म खुब पढेँ।
ती मिथका कथाहरु दन्त्यकथाहरुभन्दा फरक लाग्थेनन्।
आजकाल हाम्रै देशको मिथहरुमा खुब चाख बसेको छ। पशुपतिमा हरेक बेलुका हुने आरती हेर्न जाँदा धेरै साथीहरुलाई विरुपाक्षको मिथ सुनाएको छु मैले। साना बालकहरु भेटेँ भने उनीहरुको बोलीमा कथा सुन्न खुब रहर जाग्छ।
अहँ! दन्त्यकथाको भोक अझै मेटिएको छैन।
जब मण्डला थिएटरमा ‘एक बोली एक दाम’ नाटक हुनेबारे थाहा भयो। मन उसै–उसै फुरुङ्गिएर आयो–अब त दन्त्यकथाहरु सुन्न मात्र हैन, हेर्न पनि पाइने भएछ।
उसो त यो पहिलोपटक हैन, दन्त्यकथाहरुलाई नाटकमा प्रयोग गरिएको। शिल्पी थिएटरको नाटक ‘चिरिएका साँझहरु’, थिएटर मलको नाटक ‘भोको घर’ कतै न कतै दन्त्यकथाहरु घुसेकै थिए। तर यसपटक मण्डलामा भइरहेको ङ समूहको नाटक ‘एक बोली एक दाम’ सुरुदेखि अन्त्यसम्म नै दन्त्यकथा मात्रै छ।
त्यही कथाका पात्रहरु हामीलाई ज्यँुदो जाग्दो भएर कथा सुनाउन आइपुगेका छन्।
हर्कमान कटुवालको हाउभाउ र बोलीको लवजले नै दर्शक हँसाउन काफी भइदिन्छ।
१५ पाथी मकै किन्न हिँडेको हर्कमान बाटोमा कसैसँग भेटे नबोली हिँड्न सक्दैन। बगरको बाटो एक्लै काट्न दिक्क लागिरहेको बेला एकजना मान्छे आइपुग्छ। तर ऊ मरिकाटे बोल्ने हैन। भाइ, दाइ र हाकिमको सम्बोधनले बोलाउँदा पनि ऊ नबोलेपछि अन्ततः हर्कमान त्यो मान्छेलाई गुरू थाप्न तयार हुन्छ। तर गुरू एकचोटी बोलेको एक रुपियाँ लिने सर्तमा मात्रै बोल्न तयार हुन्छ।
३ रुपिया लिएर १५ पाथी मकै लिन हिँडेको हर्कमानको सबै पैसा गुरूलाई बोल्न लगाउँदैमा सकिन्छ।
– ज्युँदाले त खाल उखाड्न सकेनन्, मुर्दाले के गर्छ?
– ४ जना मान्छेसँग बुझ्नु।
– बस्न पायो भन्दैमा थ्याच्च नबस्नु।
हर्कमानको जिन्दगीको बगर यात्रामा भेटिएका ‘गुरू’ले भनेको यी तीन वाक्य, हर्कमानको सम्पुर्ण जिन्दगी नै परिवर्तन गर्न काफी भइदिन्छ। उसो त नाटक घुम्ने मुख्य संवाद यही तीन उपदेश हुन्। यिनै तीन मन्त्रले उसको जिन्दगी नै कायापलट गरिदिन्छ।
बाटोमा हिँड्दाहिँड्दै मुर्दालाई घाटमा फालेर हिँड्न लागेको हर्कमान लासको घाँटीमा बाँधिएको ताबिज लिन अड्किन्छ। ताबिज लिन जानुअगाडिको उसको मनस्थितिलाई ¥याप गीतमा प्रस्तुत गरिएको छ। ¥याप गाउन आएको गिद्धले ठ्याक्कै त्यसरी गाउँछ जसरी लासबारे हर्कमानको मनमा एउटा ठूलो उथलपुथल रहेको थियो।
त्यो ताबिज लिएर बजारमा बेच्न हिँडेको हर्कमान ताबिजको मूल्य एउटा पसलमा मात्रै सोधेर सन्तुष्ट हँुदैन। फलतः ऊ चारवटा पसलमा ताबिजको मूल्य सोध्छ र चौंथो पसलेसँग सबैभन्दा बढी मूल्यमा ताबिज बेचेर आफ्नो बाटो लाग्छ। उसले यसपटक गुरूलाई नमन गर्छ।
ताबिज बेचेर एउटा होटलमा बस्न जाँदा बगरमा भेटिएको गुरूको तेश्रो मन्त्रले उसलाई मर्नबाट जोगाउँछ। उसले यही कुरा राजालाई बिन्ती बिसाउन जाँदा राजाले आफ्नो हराएको छोरोबारे पनि थाहा पाउँछ र हर्कमानलाई राज्यको सल्लाहकार नियुक्त गरिदिन्छ।
यसरी एक बोली एक दाम’ सुःखद अन्त्यमा गएर सकिन्छ।
नाटकको बीचबीचमा गाइने गीतले नाटकलाई अझै रमाइलो बनाएको छ। तर हर्कमानको श्रीमतीको भूमिकामाचाहिँ महिला पात्र राख्न ठूलो कन्जुस्याईं गरेजस्तो देखिन्छ। पुरुष पात्रलाई मझेत्रो ओढ्न नलगाएको भए नाटक अझ धेरै राम्रो हुने थियो।
खैर, यी संवादहरु पढिरहँदा तपाईंलाई पक्कै यो कथा कतै सुनेको, कतै पढेको जस्तो लाग्न सक्छ। खुबै ठट्यौली पारामा यी संवादहरुलाई दृष्यमा हेर्दा तपाईंलाई पक्कै रमाइलो लाग्नेछ।