सैनपसेला गाविस वाइकोटकी शान्ति जप्रेलको घर पुगेका जिल्ला स्वास्थ्य कार्यालयका पोषण अधिकृतले उनकी ३ वर्षे छोरी अस्मितालाई कडा खालको कुपोषण भएको पत्ता लगाए । कुपोषित बालिकाको उपचार निशुल्क गरिने भन्दै जिल्ला अस्पतालको पोषण पुनस्र्थापना केन्द्रमा भर्ना गर्न अनुरोध गरे । कान्तिपुर दैनिकमा समाचार छ।
छोरीको उपचारको लागि स्थानीय बैद्यकोमा ७/८ हजार खर्च गरिसकेको भएपनि निको नभएकाले आफुले छोरीको माया मारिसकेको भन्दै स्वास्थ्यकर्मीको अनुरोध शान्तिले अस्विकार गरिन । श्रीमान ४ वर्ष देखि मलेसिया गएको, घरमा ससुरा आफु र तीन छोराछोरी मात्र भएकाले उनको कुरुवा वस्दा घरको काम अलपत्र हुने भन्दै उनले छोरीको उपचार गर्न मानिनन् । पोषण अधिकृत इन्द्र कार्कीले अस्मितालाई उपचारका लागि भर्ना नगरे प्रहरीमा उजुरी गर्ने धम्की दिए । उनले बाध्य भएर छोरीलाई जिल्ला अस्पतालमा ल्याइन ।
दुइ दिन अस्पताल वसिन । तेस्रो दिन दिउंसो खाजा खाने निहुं पारेर छोरीलाई लिएर शान्ति गायब भइन । विरामी हराएपछि अस्पतालमा खैलाबैला मच्चियो । उनको खोजी गरिदिन अस्पतालले प्रहरी गुहार्यो । खोज्दै जाँदा उनी भागेर घर गएको खुल्यो । पुसको अन्तिम सातानै बालिका अस्मिताको मृत्यू भैसकेको रहेछ ।
रिठापाटा गाविसमा काम गर्ने जिल्ला स्वास्थ्य कार्यलयकी पोषण अधिकृत सविता शाही ठकुरीले तुलसीलाई घरमै गएर धेरै पटक उपचार गर्न सम्झाएको तर उनले उल्टै गाली गरेर पठाउने गरेको सुनाइन । सविताले भनिन, ‘मरे मेरै छोरी मर्छन । तिमिहरुलाई के पर्यो भनेर उल्टै हप्काउँछन । बच्चीको अवस्था हेरेर दया लाग्छ । डाक्टरहरुले पनि सम्झाउदा मान्दै मानेकी छैनन ।’
जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार हालसम्म जिल्लाभर मध्यम र कडा खालको कुपोषण भएका कुल १ हजार ३ सय २५ वालवालिका मध्ये ७ सय ६१ बालिका छन । अभिभावकले उपचार गर्न नमान्दा यी मध्ये अधिकांस बालिकाको ज्यान खतरामा छ ।