इङ्ल्यान्डका पूर्व स्ट्राइकर पिटर क्राउचले इङ्लिस प्रिमियर लिगमा सय गोल गर्ने कीर्तिमान बनाएका छन्। उनी प्रिमियर लिगमा सय गोल गर्ने २६ औं खेलाडी हुन्। बुधबबार राती इभर्टनविरूद्ध १–१ ले बराबरी खेलमा स्ट्रोक्स स्ट्राइकरले गोल गर्दै सयौं क्लबमा प्रवेश गरेका हुन्।
‘सयौं क्लबमा केही उत्कृष्ट खेलाडी समावेश छन्। जसमा आफू पनि समावेश हुन सफल भएकोमा खुसी छु,’ ३६ वर्षीय क्राउचले भने।
लिभरपुलका पूर्व स्ट्राइकरले स्ट्रोक्सबाट सर्वाधिक ३७ गोल गरेका छन्। प्रिमियर लिगको ६ क्लबबाट खेल्ने क्रममा क्राउचले ४ सय १९ खेलमा यो उपलब्धी हात पारेका हुन्। १५ वर्षको अवधिमा उनले अस्टन भिलाबाट ६, साउथहाम्टनबाट १२, लिभरपुलबाट २२, पोर्टसमाउथबाट ११ र टोटेनहामबाट १२ गोल गरेका थिए।
उनले सर्वाधिक गोल टाउकोबाट गरेका थिए। उनले हेडिङबाट ४८, दायाँ खुट्टाबाट ४३, बायाँ खुट्टाबाट ९ र पेनाल्टीबाट १ गोल गरेका छन्।