कञ्चनपुरको बेलडाँडी नगरपालिकाको दोस्रो नगर परिषद् बिहीबार उद्घाटन गर्दै व्यवस्थापिका–संसद्का सांसद दिवान सिंह बिष्टले विकासका कार्यक्रम सञ्चालन गर्नका लागि आफू कटिबद्ध रहेको बताएका छन्।
विकास कार्यका लागि पार्टीगत स्वार्थभन्दा माथि उठेर समान तरिकाले कार्य गरेको उनले बताए। “जिल्लाको दक्षिणी क्षेत्र जोड्ने हुलाकी राजमार्ग, शुक्लाफाँटा आरक्षको स्तरोन्नति गरी निकुञ्जमा परिणत गर्ने कार्य मेरै पहलमा भएको छ”, उनले भने।
नगरपालिकाका कार्यकारी अधिकृत गणेश दत्त भट्टले आव २०७४/७५ को रु नौ करोड १४ लाखको बजेट परिषद्समक्ष प्रस्ताव गरेका छन्।
सडक ग्राभेल, तटबन्ध निर्माण, जेहन्दार छात्रछात्रालाई छात्रवृत्ति, स्वास्थ्य चौकीको भौतिक संरचना निर्माण, पुलपुलेसा, कल्भर्ट निर्माण, तालतलैया संरक्षण र दलित जनजाति, महिला अपाङ्ग, बालबालिकाको सशक्तीकरणका लागि बजेटमा प्रस्ताव गरिएको छ । रासस