इसाई धर्मालम्बीहरूको महान चाड क्रिसमस डेको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरिएको छ। काठमाडौं लगायतका देशका मुख्य मुख्य सहरको चर्चहरूमा जम्मा भएका इसाई धर्मालम्बिहरुले भोजमा सहभागी भई शुभकामना आदान प्रदान गरी यो पर्व मनाईरहेका छन्। काठमाडौंको ठमेल, बौद्ध, ललितपुरको पाटन, भक्तपुरको दरबार क्षेत्र लगायतमा चर्चहरूमा जम्मा भएर उनीहरूले एक अर्काबीच सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।
यसै अवसरमा सरकारले सार्वजनिक विदा समेत दिएको छ। आफूहरूले दवाव दिएपछि सरकारले यस अवसरमा सार्वजनिक विदा दिएको राष्ट्रिय ख्रिष्टियन महासंघका अध्यक्ष सिबी गहतराजले बताए। उनले अब तीन दिनसम्म यो पर्वको अवसरमा सरकारले विदा दिनुपर्ने माग पनि गरे।
अध्यक्ष गहतराजले नेपालमा ३० लाखभन्दा बढी ख्रिष्टियन रहेको र उनीहरुको पर्वलाई राष्ट्रिय पर्वको रुपमा उल्लेख गर्न सरकारले अलमल गर्न नहुने धारणा पनि राखे।
नेपालमा चार सय वर्ष अघि देखि क्रिसमस मनाउन थालिएको दाबी गरिएको छ। क्रिसमसको उपलक्ष्यमा क्रिसमस ट्री लगायतले चर्चहरु सजाइएका छन्। इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव डिसेम्बर २५ तारिकका दिन यो पर्व विश्वभर मनाउने गरिन्छ। आज भन्दा २ हजार १६ वर्ष अघि इजरायलको जेरुसेलमस्थित बेथलेहममा येसुको जन्म भएको थियो। आम मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउन येशु सफल भएकाले उनको स्मरणमा क्रिसमस डे मनाउने गरिएको बताईन्छ।