म्याग्दीको भगवतीमा रहेको स्वास्थ्य चौकीलाई स्थानीयवासीले सात लाख ५० हजार रुपैयाँ बराबरको जग्गा खरिद गरेर उपलब्ध गराएका छन्।
स्वास्थ्य चौकीको भवन निर्माणका लागि दुई व्यक्तिले चार रोपनी भन्दा बढी जग्गा उपलब्ध गराएका हुन् । भवबहादुर भण्डारीले साढे छ लाखमा तीन रोपनी र लोकबहादुर भण्डारीले एक लाख भन्दा बढीमा एक रोपनी जग्गा खरिद गरेर उपलब्ध गराएका स्वास्थ्य चौकीका प्रमुख अहेब टीकाबहादुर शाहीले जानकारी दिए।
जग्गाको व्यवस्था भएपछि सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले भवन बनाउने तयारी गरेको छ । एक दशकदेखि जीर्ण अवस्थामा रहेको दुई कोठे भवनबाट सेवा दिँदै आएको स्वास्थ्य चौकीमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी समेत छैनन्।
भवन साँघुरो र जीर्ण रहेकाले औषधि भण्डारण, परामर्श, बिरामीको स्वास्थ्य परीक्षण, सुरक्षित प्रसूती सेवा प्रवाह गर्न समस्या भएको हो । गाविसले उपलब्ध गराएको भवनबाट जसोतसो सेवा दिइरहेको स्वास्थ्य चौकीका प्रमुख शाहीले बताए।
सो स्वास्थ्य चौकीबाट भगवतीका साथै पिप्ले र बेग गाविसका बासिन्दाले सेवा लिँदै आएका छन्। सेवाग्राहीको सङ्ख्या दैनिक २० जनाको अनुपातमा रहेको छ। विभिन्न तहका ६ जनाको दरबन्दी रहेको चौकीमा हाल एकजना करारकासहित दुईजना स्वास्थ्यकर्मी र एकजना कार्यालय सहयोगी रहेका छन्।
सबै सेवा एउटै कोठाबाट दिनुपर्दा बिरामीले आफ्नो समस्या स्पष्टसँग व्यक्त गर्न नसक्ने र लजाउने गरेको अनमी विपासा परियारले बताइन्। रासस