जलवायु परिवर्तन न्यूनिकरण गर्ने सन्देश लिएर तीन नेपाली महिला आरोहण टोलीले कञ्चनजंघा हिमाल आरोहण गर्ने भएका छन्।
विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथा र पाकिस्तानमा रहेको दोस्रो अग्लो शिखर केटु हिमालको सफल आरोहण गरिसकेका माया शेर्पा, पासाङ ल्यामू र दावा शेर्पाले आगामी चैत र वैशाख महिनामा कञ्चनजंगा हिमाल आरोहण गर्ने जनाएका हुन्। नेपाल पर्वतारोहण संघको कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गरी कञ्चनजंगा हिमाल आरोहणका विषयमा औपचारिक जानकारी गराइएको हो।
सगरमाथा र अन्य हिमालमा आरोहीको भीड लाग्ने र जलवायू परिवर्तनका कारण प्रदुषित भएकाले नेपालका अन्य हिमाल पनि आरोहणका लागि योग्य छन् भन्ने सन्देश दिन कञ्चनजंगा हिमाल आरोहण गर्न लागेको विश्व कीर्तिमानी हिमाल आरोही माया शेर्पाले जानकारी दिइन्। उनले प्रतिकूल वातावरणसँगै जलवायू परिवर्तनलाई न्यूनिकरण गर्न राज्य र विश्व समुदायलाई सकारात्मक सन्देश दिने आफ्नो टोलीको उद्धेश्य रहेको बताइन्।
विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंगा हिमालमा यसअघि सात जना विदेशी महिलाले मात्र आरोहण गरेकाले आफूहरुको रोजाइमा परेको उनीहरुले बताएका छन्। ताप्लेजुङमा अवस्थित कञ्चनजंगा हिमाल समुद्री सतहबाट ८ हजार ५ सय ६८ मिटर उचाइमा छ।