विगत १० वर्षअगाडिदेखि गौचरनमा परिणत भएको दीपायल विमानस्थलको कालोपत्र गर्ने कार्य सुरु भएको छ। असारमा कालोपत्र गर्नका निम्ति निस्किएको टेन्डर गत कात्तिकमा आएर सम्झौता भइसकेपश्चात् कार्य अगाडि बढेको नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत बालकृष्ण रेग्मीले बताए।
विमानस्थललाई कालोपत्र गर्नका निम्ति आवश्यक सामान दीपायल ल्याउने कार्य भइरहेको समेत रेग्मीले जानकारी दिएका छन्। “कालोपत्र गर्नका निम्ति अधिकतम रुपमा गिट्टीको आवश्यकता हुन्छ, त्यसका निम्ति क्रसर फिट गर्ने कार्य भइरहेको छ”, अधिकृत रेग्मीले भने। विमानस्थल कालोपत्रको कार्य द्रुतगतिमा अगाडि बढ्ने समेत रेग्मीले बताएका छन्।
सपना गाल्बा जेवी निर्माण समितिले कालोपत्र गरिरहेको विमानस्थलमा करिब पाँच करोड ५० लाख रुपैयाँको रकम खर्च हुने विमानस्थल कालोपत्रका साइट इन्चार्जसमेत रहेका अधिकृत रेग्मीले जानकारी दिएका छन्। करिब साढे चारसय मिटर लम्बाइ भएको विमानस्थलको कालोपत्र गर्ने कार्य १५ महिना भित्रै सकिने बताइएको छ।
सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दीपायलमा अवस्थित विमानस्थल कालोपत्र हुँदा यहाँका जनतामा हर्ष छाएको छ। १० वर्षदेखि ओझेलमा परेको विमानस्थल कालोपत्र गर्नका निम्ति डोटी क्षेत्र नं २ का सांसद प्रेमबहादुर आलेमगरले आफूले ठूलो मिहेनत गर्नु परेको बताएका छन्। डोटेली जनताको माया र स्नेहले आफूलाई विकास गर्नका निम्ति थप उत्साह दिएको उनले बताए।
अबका दिनमा विमानस्थललाई नियमित सञ्चालनका निम्ति त्यहाँका जनताले सहयोग गर्नुपर्नेमा आलेमगरको जोड रहेको थियो । सुदूरपश्चिमको मुटुमा रहेको विमानस्थल कालोपत्र हुने भएपछि छिमेकी जिल्ला अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, दार्चुला लगायतका जनतालाई सहज हुने देखिएको छ । रासस