काठमाडौं प्रहरी परिसरका एएसपी बिक्रमसिंह थापाले शक्ति केन्द्र धाएर काठमाडौं प्रहरी प्रमुख भएर आउने प्रहरी धेरै दिन नटिक्ने दाबी गरेका छन्।नियमित अवकाशमा जाने दिन आज पत्रकार सम्मेलन गरी थापाले शक्ति केन्द्र, राजनीतिक दलको आडमा काठमाडौं प्रहरी प्रमुख भएर आउनेले कुनै पनि काम गर्न नसक्ने दाबी गरे।
'शक्ति केन्द्र धाएर सेफर काठमाडौं बनाउछु भनेर जस नसले दिवा सपना देखेका छन्' उनले भने 'त्यो पुरा हुन्न, मेरो अनुभवले भन्छ संगठनप्रति बफादार भए शतप्रतिशत सफल होइन्छ।'
'शक्ति केन्द्र धाएर आउने प्रहरी प्रमुख खहरे खोला हो,' उनले भने 'केही दिनमा नै सुकेर जान्छन् संगठन भनेको महासागर हो, सधै टिकिरहन्छ।'
३० वर्षे जागिरे अवधिमा थापाले २५ स्थानमा इन्र्चाज भएर काम गरे। २०४३ सालमा प्रहरी सेवामा प्रवेश गरेका थापा द्धन्द्धकालमा नुवाकोटको प्रहरी हुदाँ माओवादी एम्बुसमा समेत परेका थिए। त्यसपछि सुन्ने शक्ति उनले गुमाएका छन्।
ललितपुरको प्रमुख हुदाँ उनले युनिटी काण्डको जालो तोडेका थिए भने बाँकेमा सशस्त्र समूहका नाइके भगतसिंहलाई पक्राउ गरेका थिए। अवकाश हुने दिनसम्म उनी काठमाडौं प्रहरी प्रमुख पदमा नै कार्यरत भए। उनलाई विदा भएर जाने बेलामा महानगरीय प्रहरी कार्यालयले उत्कृष्ट काम गरेको भन्दै पुरस्कार पनि प्रदान गरेको छ।
थापासँगै आजदेखि एसएसपी रोमेश्वर रोमखामी, गोपाल भण्डारी, उत्तमसिंहले अवकाश पाएका छन्। आजै डिएसपी, इन्सपेक्टरहरु गरी ३ दर्जनभन्दा बढीले अवकाश पाएका छन्।