महिलाको भूस्वामित्वमा अधिकार नभएका कारण ‘महिला हिंसा’ हुने गरेको सरोकार भएकाहरुले बताएका छन् ।
लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान तथा ६८ औं मानवअधिकार दिवसका सन्र्दभमा महिला किसान सङ्घले आज यहाँ आयोजना गरेको ‘खाद्य अधिकार, भूस्वामित्व र महिला हिंसा’ विषयको अन्तरसंवाद कार्यक्रममा सरोकार भएकाहरुले महिलाको भूमिका स्वामित्व बढाई हिंसालाई न्यूनीकरण गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य शान्ता मानवीले राज्यले भूमिको व्यवस्थापनलाई समान रुपमा महिला र पुरुषलाई बाँडेर विभेद हट्ने बताइन्। उनले महिलाको भूमिका स्वामित्व नभएकै कारण हिंसामा परेको उल्लेख गरिन्। उनले महिलालाई हिंसाबाट मुक्त गर्नका लागि भूस्वामित्वको अधिकार दिएर उत्पादनशील काममा लगाउनुपर्ने बताइन्।
राष्ट्रिय महिला आयोगका सहसचिव इन्दिरा दाहालले संविधानमा हिंसा निवारण गर्ने व्यवस्था भए पनि कार्यान्वयन हुन नसकेको बताउँदै संविधानम भएका व्यवस्थालाई कानुन बनाएर हिंसालाई निवारण गर्न पहल गर्नुपर्ने सुझाव दिइन्।
आफ्नो कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता शान्ति खनालले नेपालको संविधानमा महिला अधिकारका कुरा धेरै उल्लेख भए पनि कार्यान्वयन फितलो भएको धारणा राखिन्।
प्रा डा केशवराज खड्काले खाद्य अधिकार र भूस्वामित्व विषयमा कार्यपत्र प्रस्तुत गर्दै घरपरिवारमा नै लैङ्गिक समानता नभएको बताउँदै महिलालाई भूमिमा स्वामित्वको अधिकार प्रदान गर्नुपर्ने उल्लेख गरे।
सङ्घका अध्यक्ष जयन्ती पौडेल र सदस्य कमला बोहराले पुरुष जत्तिकै महिलाको अधिकार बढाएमा र महिलालाई भूमि प्रदान गर्ने हो भने हिंसा कम हुने जिकिर गरे।रासस