डा.गोविन्द केसीले आइओएमका डिनसँगै त्रिवि उपकुलपति तीर्थ खनियाँको पनि राजीनामा मागेपछि एउटा प्रश्न उठेको छः के साँच्चै खनियाँ त्यस्तो सजायँको हकदार छन्? के कसैले माग राख्दैमा राज्यले कसैमाथि कारवाही गर्न मिल्छ?
डा. केसीले उक्त मागका पछाड़ि देखाएको आधार प्रस्ट छ । खनियाँले पहिले नौ महिनासम्म आइओएमको डिन नियुक्त गरेनन्। कार्यवाहक डिनले जथाभावी गरेर गत वर्ष भएका सुधारहरु उल्ट्याए । आइओएमले क्षमता नभएका कारण नयाँ सम्बन्धन दिन नसक्ने भन्दै आएकोमा त्यो उल्ट्याए ।
दुइटा कलेजलाई अघिल्लो वर्ष सरकारले तोकेकोभन्दा बढी सिट दिए, चिकित्सा शिक्षा ऐन नआइ नयाँ सम्बन्धन नदिने राज्यको प्रस्ट नीति हुँदा हुँदै एउटा नयाँ डेन्टल कलेजलाई सम्बन्धन दिने प्रयास गरे । काउन्सिललाई अख्तियारले पक्षघातग्रस्त बनाएको मौका छोपेर उसलाई लल्कार्दै नियमबमोजिम उसको निर्णय नपर्खी सिट बाँडे । यो वर्ष एमबीबीएसमा भर्ना हुँदा मेरिटको लागि काउन्सेलिङ भएन, भद्रगोलपूर्वक मनोमानीपुर्वक शुल्क लिएर विद्यार्थी भर्ना भए ।
आइओएम यसरी अस्तव्यस्त हुँदा जिम्मेवार खनियाँ टुलुटुलु हेरेर बसे ।
अघिल्लो साता कार्यवाहक डिन, चार सहायक डिन र क्याम्पस प्रमुखका सबै पद खाली भए । खनियाँले ४ दिनसम्म ती सबै पद खाली राखे । विद्यार्थी भर्ना, शुल्कसम्बन्धी संवेदनशील भूमिका खेल्नुपर्ने बेला त्यही थियो । आइओएम निस्क्रिय हुँदा मेडिकल कलेजहरुको मनपरी भयो । खास गरी शुल्कमा अरबौंको कालोबजारी भयो, भइरहेको छ ।
जब उनले डिन नियुक्त गरे, तीन महिना अवधि बाँकी भएका, पहिले अस्पताल निर्देशक हुँदा अस्पताललाई धराशायी बनाएका र अनेक अनियमिततामा मुद्दा खेपिरहेका कनिष्ठ व्यक्तिलाई बनाए । अनि सहायक डिन र क्याम्पस प्रमुखमा अहिले उस्तै पृष्ठभूमिका मानिसहरुलाई दलपिच्छे भाग लगाएर नियुक्ति गर्ने तयारी भइरहेको छ ।
जसले आफूअन्तर्गतको निकायमा झण्डै एक वर्षसम्म नियुक्ति गरेर त्यसलाई दिशा दिन सक्दैन र संस्थालाई मरणासन्न बनाउँछ अनि नियुक्ति गर्ने बेला त्यो निकाय धराशायी नै हुने गरी नियुक्ति गर्छ, त्यस्तो मानिसलाई पदबाट हटाउनुपर्यो भन्नु के नाजायज हो?
तर खनियाँलाई हटाउनुपर्ने यो एक्लो कारण हैन । यस अघि उनले गरेको बौद्धिक चोरी काण्डलाई गहिरिएर हेर्यो भने उनलाई कुलपति हैन, प्राज्ञ वा प्राध्यापक भन्न पनि गाह्रो छ ।
बौद्धिक चोरी आफैंमा अपराध हो तर कहिलेकाहीं त्यो असावधानीवश पनि हुन सक्छ । बौद्धिक चोरी गरेपछि असावधानीवश भएको भनेर गल्ती स्वीकार्ने व्यक्तिले त्यसपछि सुध्रेर वास्तविक शोध गर्ने बाटो खुल्लै हुन्छ ।
तर खनियाँको विषय अलग्गै र गम्भीर छ । बौद्धिक चोरीका लागि भनेर आएको खनियाँको आर्टिकलमा अरु धेरै गम्भीर समस्याहरु छन् ।
एक, चोरी चोरी नै हो तर त्यसको मात्राले पनि कहिलेकाहीं महत्व राख्छ । उद्धृत नगरी कतैबाट एउटा हरफ वा अनुच्छेद उठाउनु एउटा कुरा, सिंगै आर्टिकल उठाउनु अर्कै कुरा हो । खनियाँले टर्कीका शोधकर्ता डा फेरित किलिकायाको लेख समग्रतामा उठाएका छन् । यो कुरा यस अघि नै मिडियामा आइसकेको छ तर सो प्रकरणमा बाहिर आउन नसकेका अरु गम्भीर कुराहरु छन् ।
दुई, वैज्ञानिक शोध भनेको के हो? यो प्रश्नको आधारभुत जवाफ थाहा नपाइ खनियाँले आर्टिकलहरु लेखेको प्रस्टै हुन्छ । शोधमा अरुबाट उद्धृत गरिएको कुरा र त्यसलाई आफुले गरेको विश्लेषण र निकालेको निश्कर्ष सँगसँगै जानुपर्छ । पहिल्यै निकालिएको निश्कर्ष हुबहु निकाल्दा पनि आफूले बौद्धिक अभ्यास गरेको प्रमाण नभईकन त्यो शोध हुँदैन । निश्कर्ष दोहोरियो भने कसको कहिलेको शोधसँग किन दोहोरियो भन्ने प्रस्ट खुल्यो भने मात्र त्यसको अर्थ हुन्छ ।
किलिकायाको लेख पहिले कपि पेस्ट गरेपछि त्यसका अनुच्छेदहरुको तलमाथि लम्बेतान वाक्यहरु थपेर खनियाँले आफ्नो लेख लेखेका छन् । उद्धृत गर्नु र चोर्नु फरक भएकाले खनियाँको आर्टिकलमा किलिकायालाई उद्धृत गर्नु सम्भव थिएन, गरेनन् । गरेचाहिं के भने, किलिकायाले उद्धृत गरेका चौधमध्ये दुई रेफरेन्स छाडेर बाँकी जस्ताको तस्तै उतारे । फलस्वरुप उनको ३८०० शब्दको लेखमा जम्मा १२ रेफरेन्स भए जबकि किलिकायाको जम्मा २१०० शब्दको आर्टिकलमा १४ रेफरेन्स छन् र सोही जर्नलको डा जयराज अवस्थीको ५४०० शब्दको आर्टिकलमा ३६ रेफरेन्स छन् ।
वैज्ञानिक शोध लेखनमा यस्तो रेकर्ड भएका व्यक्ति कसरी प्राज्ञ हुन सक्छन्?
तीन, शोधमा मात्र होइन, खनियाँको आधारभुत अंग्रेजी भाषामा समेत समस्या रहेको कुरा सो आर्टिकलको शुरूमैं झल्किन्छ । उनको आर्टिकलको एब्स्ट्रयाक्ट यसरी शुरु हुन्छः
Even though most teachers of English learn the importance of authentic materials in EFL classrooms, many of them do not use them in our situations for the reasons that preparation or selection of them could be time taking and difficult, and even when they use them sometimes, the teachers may be charged for bringing foreign culture in the classroom.
यो वाक्यको अन्ततिर प्रयोग भएको ‘चाज्र्ड फर’ भन्ने अंशले शिक्षकहरुले कक्षाकोठामा ‘विदेशी संस्कृति भित्र्याउनका लागि शुल्क तिर्छन्’ वा ‘उनीहरुलाई शुल्क तिराइन्छ’ भन्ने अर्थ लाग्छ । जबकि पूरा अनुच्छेद हेर्दा ‘उनीहरुलाई विदेशी संस्कृति भित्र्याएको आरोप लगाइन्छ’ भन्न खोजेको बुझिन्छ जसका लागि ‘चाज्र्ड फर’ नभई ‘चाज्र्ड अफ’ प्रयोग हुनुपर्ने हो ।
अरुको शोध सामाग्री चोरेपछि त्यसबाट एब्स्ट्रयाक्ट निकाल्दा त्यसमै भाषागत रुपमा चिप्लिने मानिस कसरी प्राज्ञ हुन सक्छ?
चार, अब हेरौं बौद्धिक चोरीको आरोपप्रति खनियाँको प्रतिक्रिया । सेतोपाटीलाई उनले भनेछन्ः 'त्यसमा रेफरेन्स छुटेछ । प्रश्न उठ्यो । तर यसका लागि सम्पादकीय टोली नै जिम्मेवार छ । पियर रिभ्यू नगरी लेख छाप्नु नेल्टा कै गल्ती हो ।'
हेर्नुहोस्
रेफरेन्स भनेको के हो? सिंगो लेख उठाएपछि त्यसको कहाँनेर रेफरेन्स राख्न मिल्छ? पियर रिभ्यू भनेको के हो? पियर रिभ्यू गर्दा चोरी भेट्टिएर लेख नछापिएको भए जर्नलको मर्यादा त बच्थ्यो तर शोधकर्ताका रुपमा उनी आफैं कसरी निर्दोष हुन सक्थे? पियर रिभ्यू हुनु र नहुनुले उनको चोरी कर्मलाई कसरी फरक पार्छ? त्यसमाथि, अर्काको पेपर थपक्क सारेको जर्नलका सम्पादकले कि उनले?
यो हास्यास्पद उत्तरले त शोध लेखनमा रेफरेन्स के हो, त्यसको काम के हो, सम्पादकको जिम्मेवारी के हो र पियर रिभ्युको औचित्य के हो, यी कुनै कुराको खनियाँलाई पत्तो नभएको पुष्टि गर्छन् ।
रेफरेन्सको अर्थ र औचित्य थाहा भएको मानिसले बौद्धिक चोरी गरिसकेपछि पनि देखाउनलाई सुहाउँदो संख्या र विविधता भएका रेफरेन्सहरु बटुल्छ । त्यसो गर्दा चोरी पक्रन गाह्रो पनि हुन्छ । तर पहिले स्कुले केटाकेटीले पत्ता लगाउने गरी चोरी गरिसकेपछि आफूलाई रेफरेन्सहरुको प्रयोग र सम्पादक र पियर रिभ्युको भुमिकाबारे समेत केही ज्ञान नभएको कुरा छर्लङ्ग हुने गरी नांगिइसकेको मानिसलाई कसरी प्राज्ञ भन्ने?
पाँच, खनियाँकै अनुसार ‘एक्जामिनेसन्स फर लर्निङ’ नामक पाठ्य सामाग्रीमा उनको चोरीको उत्पादन समाविष्ट छ र विद्यार्थीहरुले त्यो उत्पादन चोरीको भन्ने पूर्ण जानकारीका साथ त्यसलाई ग्रहण गरिरहेका छन् । अब ती विद्यार्थीले के सिक्लान्? के तिनका लागि सो पेपरमा भएको चोरी, बेइमानी, भाषागत कमजोरी, आदि स्वतः वैध भएन र? के त्यसले त्यस्तो अपराध कर्म स्वीकार्य हुने मात्र हैन, विश्वविद्यालयको उपकुलपति जस्तो पदमा पुग्ने भर्याङ बन्न सक्छ भन्ने सन्देश दिंदैन?
छ, उल्लिखित आर्टिकलमा चोरी भएको भनेर प्रकाशित गर्ने जर्नलको सम्पादक मण्डलले किलिकायासित क्षमा मागिसकेको छ तर खनियाँ त्यति गर्न पनि तयार छैनन्, बरु जर्नललाई नै दोष लगाउँदै हिंडिरहेका छन् । गलत काम गरेपछि त्यो स्वीकारेर प्रायश्चित गर्ने मानिस फेरि सही मार्गमा आउने प्रशस्त सम्भावना हुन्छ, अपराध गरेर ग्लानिबोध गर्ने मानिस अपराधको संसारबाहिर फर्कन सम्भव हुन्छ । तर खनियाँले आफूलाई जहाँ उभ्याएका छन्, त्यहाँबाट थप चोरी, बेइमानी र जालझेल गर्नु र त्यसको भरमा माथि जानुको विकल्प छैन । त्यत्रो चोरी गरेर उनलाई गल्ती नै महसुस भएको छैन भने उनी अब कसरी सुध्रेलान्? अरुको शोध उठाएर आफ्नो बनाउनु उनका लागि गल्ती हैन र सामान्य हो भने उनले त्यो एउटा प्रसंगमा मात्र गरेका होलान् भनेर कसरी पत्याउने?
विश्वविद्यालयको कुलपति आफैं चोर्ने, ढाँट्ने र चोरी कर्मको औचित्य पुष्टि गर्ने भएपछि हाम्रो उच्च शिक्षा कता गइरहेको छ? के पार्टीहरुले टीका लगाएर पदाधिकारी बनाउँदा यस्तो खुलेआम चोरी र बेइमानी गर्नेहरुबाहेक अरुलाई नभेट्टाउने गरेका हुन्? कि यस्तै कमसल पृष्ठभुमिका मानिसहरुले पार्टीको वफादार दासको भुमिका निभाउने र कुनै शर्त नराख्ने भएकाले यस्ता मानिसहरु शीर्ष पदमा पुगेका हुन्?
साँच्चै हाम्रो उच्च शिक्षाको लक्ष्य पार्टीका कार्यकर्ताहरुलाई जागिर ख्वाउने नभई विद्यार्थीहरुलाई शिक्षित गर्ने हो भने खनियाँले झैं चोरी र बेइमानी गर्नेहरुलाई विश्वविद्यालयबाटै निकाल्नुपर्छ, उपकुलपतिबाट मात्र हैन । त्यसपछि मात्र हाम्रो विश्वविद्यालय शिक्षाको मर्यादा कायम रहन सक्छ ।
अन्तमा, जो आफैं चोरी गरेको सामाग्रीमा १५०० ताल न तुकका शब्द खर्चेर आफ्नो सामाग्री भनेर जर्नलमा पठाउँछ, उसले मेडिकल शिक्षा र यसको गुणस्तरले मानिसको स्वास्थ्यमा खेल्ने प्रत्यक्ष भूमिकाबारे कसरी बुझोस्? उसका लागि मेडिकल शिक्षा सौदाबाजी गरेर आफू वा आफूलाई नियुक्त गर्ने दललाई धनी बनाउने अवसरभन्दा बढी के हुन सक्छ? पार्टी कार्यकर्ताबाहेक आफ्नो अर्को कुनै हैसियत नभएपछि उसले आफूमुनिको नियुक्तिमा पार्टी कार्यकर्ताबाहेक अरुलाई कसरी योग्य देख्न सक्छ?
जसलाई प्राज्ञ भन्नुपर्दा तमाम स्वाभिमानी विद्यार्थी र नागरिक लज्जित हुन्छन्, त्यस्तो व्यक्तिले विश्वविद्यालयको नेतृत्व कसरी सम्हाल्न सक्छ?
त्यसैले अब खनियाँ त्रिविको शीर्ष पदबाट बाहिरिनुको विकल्प छैन । उत्तम त यो हुन्छ कि उनी चोरी र बेइमानीका लागि प्रायश्चित गर्दै त्रिविको जागिरै छाडुन् ।
जीवन क्षेत्री South Asia and Beyond नामक ब्लगमा नियमित लेख्छन्।