भारत सरकारले पाँच सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपालका सीमावर्ती क्षेत्रमा यसको असर देखिन थालेको छ। खासगरी उपभोग्य वस्तु, औषधिउपचार, तीर्थधर्म, पठनपाठनमा भारत ओहोरदोहोर गरिरहने नेपालीले भारू प्रतिबन्धको असर भोग्नुपरेको छ।
कामविशेषले भारत जान पैसा सटही गरेका उद्योगी व्यवसायी पनि पीडित बनेका छन्। औद्योगिक प्रयोजनमा भने भारू प्रतिबन्धले कुनै असर नपार्ने उद्योगीहरू बताउँछन्।
उद्योगी व्यवसायीका अनुसार भारतसँग सीमा जोडिएको विराटनगरका अधिकांश मान्छेसँग थोरै भए पनि भारतीय रुपैयाँ मौज्दात रहने गर्छ। ‘सीमाक्षेत्रमा बस्ने मान्छेको भारतसँग हरेक हिसाबले सम्बन्ध जोडिएको हुन्छ, यहाँका अधिकांश व्यापारीसँग कम्तीमा तीसदेखि पचास हजार भारू छ,’ पूर्वाञ्चल उद्योग वाणिज्य संघका महासचिव रबिन दाहालले शुक्रबार सेतोपाटीसँग भने, ‘अब ती नोट के गर्ने? यो विषयमा नेपाल सरकारले भारतसँग पहल गर्नैपर्छ।’
उद्योगी व्यवसायीसँग भने ठूलो मात्रामा भारतीय रुपैयाँ मौज्दात नरहेको उनले बताए। ‘उद्योगी व्यवसायीले बैंक–टु–बैंक कारोबार गर्ने भएकाले उनीहरूसँग त्यति धेरै भारतीय रुपैयाँ मौज्दात हुँदैन,’ दाहालले भने, ‘थोरै मात्रामा हुनसक्छ।’
उद्योग संगठन मोरङका पूर्वअध्यक्ष शिवशंकर अग्रवालले पनि औद्योगिक क्षेत्रमा कसैसँग ठूलो परिमाणमा भारू रहेको जानकारी नआएको बताए। ‘सीमाक्षेत्रमा भारू नोटको सदुपयोग हैन दुरुपयोग धेरै हुन्छ, यस हिसाबले भारू प्रतिबन्ध गर्दा नेपाललाई नै फाइदा पुग्छ,’ उनले भने, ‘चोरी–तस्करी र हुन्डीमार्फत हुने कारोबार रोकिन्छ।’
पाँच सय र हजार भारूका नोटमा लागेको प्रतिबन्धले भारतसँगको मुख्य नाका एवं औद्योगिक व्यापारिक नगर वीरगन्जमा पनि प्रभाव परेको छ।
केही समययता राष्ट्र बैंकले भारतीय रुपैयाँ सटहीमा गरेको कडाइकै कारण अहिले यस्तो समस्या आएको वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गणेश लाठ बताउँछन्। बैंकबाट सहजै सटही नभएपछि भैपरी आउँदाको निम्ति भारतीय रुपैयाँ संकलन गरेर राख्ने प्रवृत्ति व्यापक भएकै बेला यस्तो प्रतिबन्ध आइपरेको उनको भनाइ छ।
‘हामीकहाँ काम गर्ने सामान्य कर्मचारीले पनि दुई–चार हजार भारतीय रुपैयाँ जोगाएर राखेको अवस्था छ। बैंकले नदिइरहेको अवस्थामा भारूको नियमित खाँचो परिरहने भएकाले २०–३० हजार नराख्ने त सायदै कोही व्यापारी होलान्,’ लाठ भन्छन्, ‘त्यस्ता रकम अब कसरी सटही होला भन्ने चिन्ता सबैमा छ।’
भारतीय रुपैयाँमा सरकारले गरेको कडाइकै कारण सर्वसाधारणले आफैं जोहो गरेर संकलन गर्न बाध्य भएको सुनाउने लाठका अनुसार अब यो पैसा कसरी साट्ने भन्ने चिन्ता पनि सरकारले नै लिइदिनुपर्छ।
केही व्यापारीको भारतीय बैंकमा खाता रहेको र केहीको वैवाहिक सम्बन्ध उता रहेको अवस्थामा त्यस्तासँग मौज्दात रहेको रकममा भने फरक पर्ने छैन। भारत सरकारले तीन लाख रुपैयाँसम्म बैंकले लिने प्रबन्ध गरेकाले उनीहरूको रकम सुरक्षित हुनेछ। भारतीय बैंकमा खाता नहुनेका हकमा भने उताका बैंकले कस्तो व्यवहार गर्छ भनेर हेर्न बाँकी नै रहेको लाठले सुनाए।
‘ठूला नोटमाथि भारत सरकारले अचानक प्रतिबन्ध लगाउनुलाई व्यक्तिगत रूपमा मैले सकारात्मक हिसाबले लिएको छु,’ लाठ भन्छन्, ‘यसले हुन्डी कारोबारीलाई हतोत्साही बनाएर राज्यलाइ लाभ पुग्नुका साथै हामीजस्ता भारतीय रुपैयाँ प्रयोग गरिरहनुपर्ने सीमावर्ती नागरिकलाई नक्कली नोटको तनावबाट लामो समय मुक्त बनाउनेछ।’
अचानक पाँच सय र हजारको नोट प्रतिबन्ध लगाइँदा लामो समय जाली नोटको सम्भावना नरहने उनले बताए। भारतीय रुपैयाँको यो प्रकरणले यतिबेला सीमावर्ती भेगमा भारूमार्फत हुने किनमेल एवं व्यवहारमा ठूलो कमी आएको जानकारी पनि लाठले दिए।