नेपाली कांग्रेसका सदस्य रामशरण महतले दुई दिन अघि भारतीय प्रम नरेन्द्र मोदीले भारतीय मुद्रा पाँच सय र एक हजारको नोट प्रचलनमा रोक लगाएर महत्वपूर्ण र गम्भीर निर्णय गरेका बताएका छन्।
नेपालमा पनि धेरै भारू कारोबार गर्ने वैद्य व्यवसायी रहेको भन्दै उनले नेपालका व्यवसायीलाई पनि भारतीय रूपैयाँ संकलनका लागि समय दिनुपर्ने माग गरेका छन्।
संसदमा विशेष समय लिएर बोल्दै उनले भने, ‘भारतमा स्कूल तथा वित्तिय कारोबार गर्ने वैद्य आय गर्ने व्यक्ति र संस्थालाई केही दिनको समय दिएर संकलन गर्न समय दिएका छन्। नेपालमा पनि त्यस्तै व्यवस्था हुनुपर्यो।’ उनले कालो धन र जाली नोट प्रचलनमा निषेध गर्ने कार्य भारतले गरे पनि त्यस निर्णयले नेपालमा ठूलो असर गरेको बताए।
नेपालमा भन्नका लागि तीन करोड भारतीय रूपैया मात्रै भएको भनिए पनि नेपालबाट भारतमा गएर काम गर्ने नेपालीहरुसँग यो भन्दा ठूलो रकम रहेको उनले दाबी गरे।
उनले नेपालमा जायज स्रोत र वैद्य ढंगले काम गरी राखेको भारतीय रुपैयालाई नेपाल सरकारले नेपालीहरुको हितका लागि सटहीको व्यवस्था गर्न माग गरेका छन्।
भारतीय सरकारले नेपालीले २५ हजारसम्म प्रतिव्यक्तिले लिएर खर्च गर्न पाउने अधिकार दिएको भन्दै इमान्दार र जेन्यून बचत कर्ताको आयस्रोतको बचाउ सरकारले गर्नुपर्ने बताए।
उनले बैकमा तीन करोड बचत भएपनि आम नेपालीसँग भएको भारतीय मुद्राको विषय नेपाल राष्ट्र बैक र भारतीय रिजर्भ बैकबीचको कुराकानीले मात्रै नहुने भन्दै नेपाल सरकार, अर्थमन्त्री र भारतीय सरकारसँग राजनीतिक पहल लिन जरुरी भएको औल्याए।
उनले सरकारले कालो धनलाई सेतो बनाउने अवस्था आउने नदिन सरकार, प्रधानमन्त्री, अर्थमन्त्रीले भारतमा काम गरी नेपालमा आय ल्याउने नेपाली जनताको हितमा काम गर्न माग गरे।
त्यसैगरी प्रमुख प्रतिपक्षी दल एमालेका सदस्य सुरेन्द्रप्रसाद पाण्डेले भारतीय सरकारले नेपालमा जायज रुपमा स्रोत खुलाएर राखेको मुद्रालाई तलमाथि हुन नदिने गरी भारत सरकारसँग राजनीतिक वार्ता गरी नेपालीको पैसा कागजमा परिणत नहोस भन्ने कुरामा पहल लिन माग गरेका छन्।
उनले विगतमा २५ हजारसम्म लिन र सटही गर्न दिने व्यवस्था गरेको भन्दै अहिले राष्ट्रबैकले साढे तीन करोड भारू बचत रहेको भने पनि त्यो भन्दा बढी रकक रहेको दाबी गरे।
‘पाँचसय र हजारको सटही विगतमा व्यवस्था नभएको हुँदा बैंकमा ठूलो मात्रामा भारु नहुन सक्छ,’ उनले भने भारतबाट कालोधन आउने अवस्था नभए पनि यसमा सरकारले सतर्कता अपनाउनुपर्छ।’
उनले भारतीय सरकारको निर्णयले अर्को देशको मुद्रा संकलन गरी हामी यहाँ बस्न नहुने रहेछ भन्ने राम्रो सन्देश दिएको बताए। भारतको पछिल्लो निर्णयले कालो धनको बढवा नदिने कुरा राम्रो भए पनि नेपालका विभिन्न भागबाट भारतमा रोजगारी गरी कमाएर ल्याएको मुद्रा खेर नजाओस भन्ने कुरामा सरकार गम्भीर हुनु पर्ने बताए।