भूकम्प गएको १८ महिना बितिसक्दा पनि भक्तपुरको चाँगनारायण मन्दिर टेकोकै भरमा राखिएको छ ।
२०७२ साल वैशाख १२ गतेको महाभुकम्पका कारण क्षतिग्रस्त भएको मन्दिरको समयमै पुनर्निमाण हुन नसक्दा अझै पनि मन्दिरलाई टेकोबाट अड्याइएको छ । विश्व सम्पदा सूचीमा सुचीकृत मन्दिरमा हरेक दिन हजारौं स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गर्छन् । सरकारले मन्दिर पुननिर्माणका लागि समयमै चासो नदेखाउँदा हजारौं पर्यटक र भक्तजन जोखिम मोलेरै मन्दिरमा पुग्ने गरेका छन्।
चारैतिरबाट टेको लगाएर अड्याइएको मुल मन्दिरको पुनर्निमाणका लागि पुरातत्व विभागले समयमै टेन्डर आव्हान नगर्दा मन्दिरको पुनर्निमाणमा ढिलाई भएको हो । जर्मन सरकारले किलेश्वर महादेवको मन्दिर र अष्ट्रेलियन सरकारले मन्दिर वरिपरीको सत्तल बनाउन सहयोग गर्ने भएपछि विभागले मन्दिर मर्मतका लागि टेण्डर आह्वान गरेको हो । तर मन्दिर व्यवस्थापन समितिले मन्दिर मर्मत भन्दा पनि पुननिर्माण नै गर्ने अडान राखेपछि मन्दिर पुननिर्माण गर्ने सहमति भएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चक्रधरानन्द राजोपाध्यायले मन्दिरको पुरानै संरचना अनुसार नै मर्मत र पुननिर्माण हुने बताए।
उनले मन्दिर क्षतिग्रस्त भएपनि त्यसमा प्रयोग भएको काष्ठकला नष्ट नभएकाले पुननिर्माणका क्रममा पुरानै सामाग्री प्रयोग गर्ने बताए।
मन्दिर व्यवस्थापनका अनुसार मन्दिरको जग बलियो भएपनि माथिल्लो भाग झर्ने अवस्थामा पुगेको छ । चारैतिरबाट टेको लगाएर अड्याएको मन्दिरको दैनिक पूजा मन्दिर भित्रै भएपनि भित्ता चिरा परेको छ । भुकम्पअघि नै मन्दिरको उत्तर पश्चिमपट्टि गएको पहिरोका कारण मन्दिरको जग ढल्किएको र सिँढी भाँसिएको थियो ।