दाङ प्रहरीले भरुवा बन्दुक र वन्यजन्तुको छालासहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ।
त्रिपुर नगरपालिका वडा नं. ८ शिवपुर निवासी ४८ वर्षीय विष्णु नेपालीको घरबाट आइतबार दिउँसो भरुवा बन्दुक फेला परेको प्रहरीले जानकारी दिएको छ। नेपालीले घरमा लुकाइछिपाइ हतियार राखेको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा एकनाले बन्दुक फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए।
नेपालीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै, त्रिपुर नगरपालिका वडा नं. ८ शिवपुर निवासी ३९ वर्षीय वसन्तनाथ कुँवरको घरबाट प्रहरीले वन्यजन्तुको छाला बरामद गरेको छ। वन्यजन्तुको चार थान छाला बरामद गरी आवश्यक अनुसन्धान र कानुनी कारबाही थालिएको सिंहले बताए।