नदी कटान नियन्त्रणका लागि समयमै प्रभावकारी काम नहुँदा कैलाली जिल्लाका नदी आसपासका कयौँं बिगाहा जमिन प्रभावित भएकोे छ ।
देशमा सबै भन्दा बढी नदी र खोला भएको कैलालीमा नदी कटानसँगै हुने डुबानको समस्याले आसपासको खेतीयोग्य कैयौँ बिगाहा जग्गा बालुवामय हुँदै आएको हो ।
कार्णाली, काँडा, कन्द्रा, खुटिया, शिवगङ्गा, गौरीगङ्गा, मुढा, खैराना, पथरैया, गोदावरी, लिक्मा, कटेनी नदीका साथै नेपाल भारत सीमा क्षेत्रको मोहना नदीले जमिन कटान गर्दा र डुवानको समस्याले पुराना बस्ती पनि स्थायी रुपमै विस्थापित समेत भएका छन् ।
नदी नियन्त्रणका लागि केही स्थानमा स–साना स्पर निर्माण गरेपनि वर्षायाममा आउने बाढीले सबै स्पर पुरिदिने वा बगाइदिने गरेको हसुलियाका ज्ञानबहादुर चौधरीको गुनासो छ ।
सीमा क्षेत्रको मोहना नदीको कटानले भारतीय क्षेत्रमा भन्दा नेपाल तर्फको जग्गा बढी कटान भएकाले सीमा क्षेत्रका कतिपय स्तम्भ पुरिदिने समस्या बढ्दा पनि रोकथामका लागि प्रभावकारी योजना नल्याइएको उनी बताउँछन्।
वनजङ्गल र चुरे क्षेत्रमा भइरहेको अतिक्रमणका साथै नदीबाट ढुङ्गा, बालुवा गिटीलगायतका बस्तु जथाभावी रुपमा झिक्दा नदी कटान र डुबानको समस्या पनि बर्सेनि बढ्दै गएको जिल्लाका प्राविधिक बताउँछन् ।
जिल्ला भू–संरक्षण कार्यालय कैलालीले राष्ट्रपति चुरे तराईं– मधेस संरक्षण कार्यक्रम अन्तर्गत मोहना नदी र लिक्मा नदीमा गरेको संरक्षणका काम न्युन बजेटका कारण रुपमा प्रभावकारी हुन नसकेको छैन ।
गत आवमा यी दुई नदी प्रणालीको माथिल्लो तटीय क्षेत्रमा संरक्षणका कार्य गरेकोमा यस आवमा तल्लो तटीय क्षेत्रमा कार्य गर्ने लक्ष्य रहको उक्त कार्यालयका भू–संरक्षण सहायक वृजनारायण चौधरी बताउँछन्।