तीन करोड जनसंख्या भएको मुलुकमा दर्जनभन्दा बढी मन्त्रालय नै आवश्यक नपर्ने विज्ञको सुझाव आइरहेकै बेला कुनै कामै नभएका उपप्रधानमन्त्रीको पगरी थप्न नयाँ सरकार गठनसँगै बरिष्ठ मन्त्रीहरु तँछाडमछाड गर्न थालेका छन्। अन्नपूर्ण पोस्टमा समाचार छ।
उपप्रधानमन्त्री हुँदा सरकारको मर्यादाक्रममा उक्लिनुबाहेक व्यक्तिगत रुपमा अरु कुनै फाइदा हुँदैन। बरु उपप्रधानमन्त्री भइसकेपछि फेरि मन्त्रीमा झर्न मर्यादाले पनि अवरोध गर्ने हुँदा मन्त्री हुने सम्भावनाको ढोका बन्द हुन्छ। तर पनि किन गठबन्धनमा रहेका सवै दललाई उपप्रधानमन्त्री नै चाहिन्छ सरकारमा सहभागी हुन?
प्रशासन सुधारका ज्ञाता काशीराज दाहाल उपप्रधानमन्त्री एकजनाभन्दा बढी बनाउनु शासनका हिसावले गलत तथा प्रशासनिक र कार्यसम्पादनका हिसाबले पनि झन्झटिलो र अप्राकृतिक हुने बताउँछन्।
‘कुनै बरिष्ठ र समाजमा उच्च सम्मान भएको व्यक्ति सरकारमा छ भने उसलाई सम्मानस्वरुप उपप्रधानमन्त्री बनाउनु उपयुक्त हुन्छ, दाहालले भने‘तर गठबन्धन बचाउने गरी सरकारमा सहभागी सबै दललाइृ एउटा उपप्रधानमन्त्री दिने अत्यन्त गलत परम्परा हो। यसले शासन र राज्य सञ्चालनमा सकारात्मक सन्देश दिँदैन।’
अधिकांश मुलुकमा उपप्रधानमन्त्री प्रायः हुँदैन। प्रधानमन्त्री विदेश गएको छ भने आफ्नो सरकारका वरिष्ठ मन्त्रीलाई नै कार्यवाहक पधानमन्त्रीको जिम्मा दिइएको हुन्छ। तर नेपालमा भने पछिल्लो पटक केपी शर्मा ओली सरकारले आधा दर्जन उपप्रधानमन्त्री बनाएर देशको बदनाम मात्रै गराएको छैन, उपप्रधानमन्त्रीको मर्यादा र उचाइसमेत कमजोर र सस्तो देखाएको छ।